काठमाडौं। इङ्लिस प्रिमियर लिग क्लब आर्सनलले उपाधिका लागि मिडफिल्डको विकल्प बलियो बनाउन मिकेल मेरिनोलाई अनुबन्ध गरेको छ।
रियल सोसिडाडबाट प्रशिक्षक इमानोल अल्गुआसिलले सार्वजनिक बिदाइ गरेको चार दिनपछि मंगलबार मेरिनोले आर्सनलसँग सम्झौता गरेका हुन्।
तीन करोड २० लाख पाउन्ड (चार करोड २० लाख अमेरिकी डलर) मा उनी आर्सनल अनुबन्ध भएका छन्। उनले आर्सनल छोडेर पोर्टोमा अनुबन्धित भएका पोर्चुगिज मिडफिल्डर फाबियो भिएराको स्थान लिनेछन्।
मेरिनोले स्पेनलाई युरो कप २०२४ जिताउन महत्त्वपूर्ण भूमिका खेलेका थिए। अतिरिक्त समयमा उनले गरेको गोलसँगै स्पेनले क्वार्टरफाइनलमा आयोजक राष्ट्र जर्मनीमाथि २–१ को जित निकालेको थियो।
आक्रमणकारी मिडफिल्डर मेरिनो २०१८ मा सोसिडाडमा अनुबन्ध भएका हुन्। त्यसयता उनी क्लबका एक मुख्य खेलाडी थिए। उनले सन् २०२० को कोपा डेल रे को उपाधि जित्नुका साथै गत सिजन च्याम्पियन्स लिगको अन्तिम १६ मा सोसोडिाडलाई पुर्याउन मद्दत गरेका थिए।
मेरिनोले डिफेन्सभ मिडफिल्डर डेक्लान राइससँगै सोसिडाडबाटै खेलिसकेका मार्टिन ओडेगार्डसँग मिलेर आर्सनलको मिडफिल्ड सम्हाल्ने छन्। मार्टिनले एक सिजन लोनमा उत्तरी स्पेनको सान सेबास्टियनमा रहेको सोसिडाडबाट खेलेका थिए।
पछिल्लो पटक सन् २००४ मा इङ्लिस च्याम्पियन बनेको आर्सनल प्रिमियर लिगको पछिल्ला दुई सिजनमा अन्तिम क्षणमा चुकिरहेको छ। यी दुवै संस्करणमा उसले म्यानचेस्टर सिटीलाई उपाधि सुम्पिएको हो। टोलीले यस सिजनको सुरुआत लगातार दुई जितका साथ गरेको छ।