काठमाडौं। डानी ओल्मोले क्याटलन क्लब बार्सिलोनाको साथ आफ्नो सपनाको सुरुआत गरेका छन्। स्पेनिस ला लिगाअन्तर्गत मंगलबार उनले लेट गोल गर्दै बार्सिलोनामा डेब्यु गरेका हुन्।
८२औं मिनेटमा लामिन यमलको पासमा ओल्मोले गोल गर्दै बार्सिलोनालाई २–१ को जित दिलाए। बार्सिलोना यो सिजन तीन राउन्डपछि तीन जित हात पार्ने एक मात्र टोली बनेको छ। लाइपजिगबाट अनुबन्धित भएपछि मंगलबार बिहान उनी ला लिगामा दर्ता भएका थिए। ओल्मोले फेरान टोरेसको स्थानमा पहिलो हाफपछि मैदान प्रवेश गरेका हुन्।
‘डेब्यु गर्न आतुर थिएँ। अन्ततः खेल्न र टोलीलाई मद्दत गर्न पाएँ, म खुसी छु,’ उनले भने। बार्सिलोनाको प्रसिद्ध ला मासिया युथ एकेडेमीका उत्पादन तथा स्पेनका २६ वर्षीय अन्तर्राष्ट्रिय खेलाडीले ५८औं मिनेटमा प्रहार गरेको बल क्रसबारमा लाग्न पुगेको थियो।
बार्सिलोनाका नयाँ प्रशिक्षक ह्यान्सी फ्लिकले भने,‘हो, उनले गोल गरेका छन्। हाम्रो टोलीमा उनी हुँदा खुसी छौं। हामी यी तीन अंकका हकदार थियौं।’ रायोलाई खेलको नवौं मिनेटमा उनाई लोपेजले गोल गर्दै सुरुआती अग्रता दिलाएका थिए। तर, ६०औं मिनेटमा राफिन्हाको पासमा पेनाल्टी क्षेत्र नजिकबाट पेड्रिले प्रहार गरेको बलले जाली चुम्दा बार्सिलोना खेलमा फर्कियो।
७१औं मिनेटमा बार्सिलोनाका स्ट्राइकर रोबर्ट लेवान्डोस्कीले गोल गर्दै बार्सिलोनालाई अग्रता दिलाएका थिए। तर, डिफेन्डर जुल्स कोउन्डेले फाउल गरेपछि भिडियो रिभ्युमा उनको गोललाई अस्वीकार गरियो।
दोस्रो हाफको इन्जुरी समयमा १७ वर्षीय मिडफिल्डर मार्क बर्नाललाई घुँडामा चोट लागेको थियो। त्यसैले यो दुःखद जित भएको फ्लिकले बताए। ‘हामी जित्छौं। तर, ड्रेसिङ रुममा कोही पनि खुसी हुँदैनन्,’ उनले भने।
रायोले कोलम्बियाका प्लेमेकर जेम्स रोड्रिग्वेजलाई अनुबन्ध गरेको घोषणा गरेको एक दिनपछि यो खेल भएको हो। कोलम्बियालाई कोपा अमेरिकाको उपविजेता बनाएपछि ३३ वर्षीय रोड्रिग्वेजले ब्राजिलियन क्लब साओ पाउलोसँगको सम्झौता रद्द गरेका थिए। इङ्लिस प्रिमियर लिग क्लब एभर्टनमा सामेल हुन रियल म्याड्रिड छोडेको चार वर्षपछि उनी स्पेनिस लिगमा फर्किएका हुन्।
बार्सिलोनाले भ्यालेन्सिया र एथलेटिक बिल्बाओविरुद्ध घरेलु मैदानमा जित निकाल्दै सिजनको सुरुआत गरेको थियो। रियाल सोसिडाडमाथि २–१ को जित र गेटाफेसँग ०–० को बराबरी खेल्दै रायोले सुखद सुरुआत गरेपनि तेस्रो खेलमा त्यसलाई निरन्तरता दिन सकेन।