काठमाडौं। साफ यु–२० च्याम्पियनसिपअन्तर्गत बंगलादेशविरुद्धको समूहचरणको खेलमा नीराजन धामीले गरेको गोलले मान्यता पाएको छ। गत बिहीबार समूह ‘ए’ को अन्तिम खेलमा घरेलु टोली नेपालले बंगलादेशलाई २–१ ले पराजित गरेको थियो।
समीर तामाङले १७औं मिनेटमै नेपालले सुरुआती अग्रता दिलाएका थिए। कप्तान कुशल देउवाले पेनाल्टी बक्सबाट क्लियर गरेको बललाई बंगलादेशका गोलकिपरले मिडफिल्ड एरियामा आएर क्लियर गर्ने प्रयास गरेका थिए।
तर, उनले बेलैमा क्लियर गर्न नसक्दा समीरले खुट्टाबाट बल खोस्दै खाली पोस्टमा गोल गरे। त्यसको एक मिनेटपछि नै नीराजनले अर्को गोल थपेका थिए।
अविनाश स्याङ्तानले दिएको कट पासलाई उनले वान टर्चमा प्रहार गर्दै जाली चुमाएका थिए। तर, उक्त बलले जाली चुम्नुअघि बंगलादेशका डिफेन्डर मोहसिन आमेदको खुट्टामा डिफ्लेक्ट भएको म्याच कमिश्नर अब्दुलको ठहर थियो।
त्यसैले उक्त गोललाई आत्मघाती मानिएको थियो। तर, अब्दुलले उक्त गोल नीराजनले नै गरेको भन्दै एक सातापछि मंगलबार आफ्नो गल्ती सच्चाएका हुन्।
योसँगै नीराजन सर्वाधिक गोलकर्ताको सूचीमा शीर्ष स्थानमा उक्लिएका छन्। उनले श्रीलंकाविरुद्धको उद्घाटन खेलमा निर्णायक गोल गरेका थिए।
भुटानविरुद्धको सेमिफाइनलमा एक गोलले पछि परेको अवस्थामा उनले नै नेपाललाई खेलमा फर्काएका थिए। खेल सकिन १२ मिनेट बाँकी रहँदा उनले लछु थापाले फ्रिकिकमार्फत दिएको हुक बललाई करिब सिक्स यार्ड बक्सबाट हेडर गर्दै जाली चुमाएका थिए।
सर्वाधिक गोलकर्ताको सूचीमा बंगलादेशका मिराजुल इस्लाम दोस्रो स्थानमा छन्। उनले दुई गोल गरेका छन्। यी दुवै गोल उनले समूहचरणमा नेपाल र श्रीलंकाविरुद्ध गरेका हुन्।
सेमिफाइनलबाट बाहिरिएको भुटानका जेत्सुन दोर्जीको नाममा पनि दुई गोल छ। उनले समूहचरणमा माल्दिभ्सविरुद्ध र सेमिफाइनलमा नेपालविरुद्ध गोल गरेका थिए।