काठमाडौं। डानी ओल्मोको डेब्यु गोलसँगै बार्सिलोना स्पेनिस ला लिगाको शीर्ष स्थानमा उक्लिएको छ। बार्सिलोना यो सिजन तीन राउन्डपछि तीन जित हात पार्ने एक मात्र टोली बनेको छ।
मंगलबार राति रायो भालेकानोलाई २–१ ले हराएको बार्सिलोनाले तीन खेलबाट ९ अंक जोडेको छ। उसले समान खेलबाट ७ अंक जोडेको भिल्ला रियललाई उछिनेको हो। रायो समान खेलबाट ४ अंक जोड्दै आठौं स्थानमा यथावत् छ।
रायोलाई खेलको नवौं मिनेटमा उनाई लोपेजले गोल गर्दै सुरुआती अग्रता दिलाएका थिए। तर, ६०औं मिनेटमा राफिन्हाको पासमा पेनाल्टी क्षेत्र नजिकबाट पेड्रिले प्रहार गरेको बलले जाली चुम्दा बार्सिलोना खेलमा फर्कियो।
७१औं मिनेटमा बार्सिलोनाका स्ट्राइकर रोबर्ट लेवान्डोस्कीले गोल गर्दै बार्सिलोनालाई अग्रता दिलाएका थिए। तर, डिफेन्डर जुल्स कोउन्डेले फाउल गरेपछि भिडियो रिभ्युमा उनको गोललाई अस्वीकार गरियो।
तर, ८२औं मिनेटमा लामिन यमलको पासमा ओल्मोले गोल गर्दै बार्सिलोनालाई २–१ को जित दिलाए। लाइपजिगबाट अनुबन्धित भएपछि मंगलबार बिहान उनी ला लिगामा दर्ता भएका थिए। ओल्मोले फेरान टोरेसको स्थानमा पहिलो हाफपछि मैदान प्रवेश गरेका हुन्।