काठमाडौं। घरेलु टोली नेपालले साफ यु–२० च्याम्पियनसिपको उपाधिका लागि बुधबार बंगलादेशसँग प्रतिस्पर्धा गर्दैछ। सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा दिउँसो २:३० बजे खेल सुरु हुनेछ।
पहिलो सेमिफाइनलमा भुटानलाई पेनाल्टी सुटआउटमा ४–१ ले पराजित गर्दै नेपाल सन् २०१७ पछि साफको उमेरसमूहको प्रतियोगिताको उपाधिनजिक पुगेको हो। बंगलादेशले भने डिफेन्डिङ च्याम्पियन भारतलाई पेनाल्टी सुटआउटमै ४–३ ले पराजित गर्दै लगातार दोस्रोपल्ट फाइनलमा स्थान बनाएको छ।
फाइनलअघि मंगलबार भएको प्रि–म्याच कन्फ्रेन्समा नेपाली टोलीका मुख्य प्रशिक्षक उर्जन श्रेष्ठले यसपल्ट पनि उपाधि जित्नेमा आशावादी रहेको बताए। ‘यसअघि हामी दुईपल्ट (२०१५ र २०१७) फाइनल पुगेका थियौं। ती दुवै प्रतियोगिता जितेका थियौं। यसपल्ट पनि उपाधि जितेर सबैलाई खुसी बनाउन चाहन्छौं,’ उनले भने। नेपालले ९ वर्षअघि सन् २०१५ मा उमेरसमूहको साफको पहिलो संस्करण आयोजना हुँदा भारतलाई पराजित गर्दै उपाधि जितेको थियो।
उक्त प्रतियोगिता पनि एन्फा कम्प्लेक्समै भएको थियो। त्यसको दुई वर्षपछि भुटानको थिम्पुमा सिंगल राउन्ड रोबिनमा भएको साफ यु–१८ नेपालले बंगलादेशलाई गोल संख्यामा पछि पार्दै दोस्रोपल्ट उपाधि जितेको थियो। त्यसयता भने भारतले उमेरसमूहमा आफ्नो दबदबा कायम राख्यो।
सन् २०१९ मा हलचोक र एन्फा कम्प्लेक्समा भएको यु–१८ साफमा भारतले बंगलादेशलाई हराउँदै पहिलो उपाधि जितेको थियो। त्यसको तीन वर्षपछि घरेलु भूमि भुवनेश्वरमा भएको साफ यु–२२ मा भारतले पुन: बंगलादेशलाई हराउँदै दोस्रोपल्ट उपाधि चुम्यो।
गत वर्ष भने यो प्रतियोगिता साफ यु–१९ को नामले त्रिपुरेश्वरस्थित दशरथ रंगशालमा भयो। उक्त संस्करणमा भारतले नेपाल र पाकिस्तानले भुटानलाई पेनाल्टी सुटआउटमा पराजित गर्दै फाइनलमा स्थान बनाएको थियो।
उपाधि भिडन्तमा भने पाकिस्तानमाथि ३–० को जित निकाल्दै भारतले उमेरसमूहको प्रतियोगिताको उपाधिमा ह्याट्रिक गरेको थियो। उक्त संस्करणमा बंगलादेश भने समूहचरणबाट अगाडि बढ्न सकेको थिएन। यसपल्ट पाकिस्तानले आन्तरिक कारण देखाउँदै प्रतियोगितामा सहभागिता जनाएन। सोही कारण दुवै समूहमा तीन/तीन टोलीले प्रतिस्पर्धा गरेका थिए। बंगलादेश भने यसपल्ट समूहचरणमा नेपालसँग २–१ ल पराजित भयो।
तर, नेपालले उद्घाटन खेलमै श्रीलंकालाई १–० र बंगलादेशले पनि उसैलाई २–० ले हरायो। त्यही नतिजाले बंगलादेशले सेमिफाइनलको यात्रा तय गरेको थियो। बंगलादेशका मुख्य प्रशिक्षक मरुफुल हकले भने यस नतिजालाई उतारचढावको रूपमा लिन्छन्। यद्यपि, बुधबारको खेलमा भने अर्कै रणनीति बनाएको कारण घरेलु टोलीविरुद्ध जित हात पार्ने उनको भनाइ छ।
‘सफलताको यात्रामा धेरै उतारचढाव हुन्छ। नेपाल घरेलु मैदानमा बलियो प्रतिद्वन्द्वी हो। किनकि धेरै खेलाडीले यहीँ खेलेका छन् । तर, हामीसँग पनि केही योजना र रणनीति छन्। त्यहीअनुसार खेल्न सक्यौ भने इन्साअल्लाह च्याम्पियन हुन्छौं,’ उनले भने।