काठमाडौं। भारतीय क्रिकेट कन्ट्रोल बोर्ड (बिसिसिआई) का सचिव जय शाह अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आइसिसी) को अध्यक्षमा निर्विरोध निर्वाचित भएका छन्।
वर्तमान अध्यक्ष ग्रेग बार्कलेले तेस्रो कार्यकालमा नबस्ने निर्णय गरेपछि अध्यक्ष पदका लागि शाह एकमात्र उम्मेदवार थिए। 'अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आइसिसी) को अध्यक्षका लागि मनोनीत हुन पाएकोमा म आभारी छु,' शाहले आइसिसीको वेबसाइटसँग भने।
जगमोहन डालमिया, शरद पवार, एन श्रीनिवासन र शशांक मनोहरपछि आइसिसीको अध्यक्ष बन्ने शाह पाँचौं भारतीय नागरिक हुन्।
बार्कलेले पहिलो पटक सन् २०२० मा दुई वर्षका लागि आइसिसीको यो पद सम्हालेका थिए र नोभेम्बर २०२३ मा उनी अर्को दुई वर्षका लागि पुनः यस पदमा निर्वाचित भएका थिए। सन् २०२२ मा शाह आइसिसीको प्रभावशाली वित्त तथा वाणिज्य मामिला समितिको सदस्य बनेका थिए भने सन् २०२३ मा उनले उक्त समितिको नेतृत्व गरेका थिए।
शाहले सन् २००९ मा गुजरात क्रिकेट संघबाट आफ्नो क्रिकेट प्रशासनिक करियर सुरु गरेका थिए। त्यसपछि उनले सन् २०१९ देखि बिसिसीआईमा सचिवको रूपमा काम गरे र उनको कार्यकाल २०२५ सम्म रहेको थियो। आइसिसीको अध्यक्ष बनेपछि उनले बिसिसीआई सचिव र आइसिसीको प्रभावशाली वित्त तथा वाणिज्य मामिला समितिको पदबाट राजीनामा दिनुपर्नेछ। शाह सन् २०२१ देखि २०२४ सम्म एसियाली क्रिकेट परिषद्को अध्यक्ष पनि थिए।