काठमाडौं। बार्सिलोनाले लगातार दुई जितका साथ ला लिगाको नयाँ सिजनको सुरुआत गरेको छ। यद्यपि, बार्सिलोनाका धेरै खेलाडी चोटग्रस्त छन्।
तर, नयाँ प्रशिक्षक हान्सी फ्लिकको नेतृत्वमा रहेको टोलीले जुन प्रदर्शन गरिरहेको छ त्यसले बार्सिलोनाको उपाधि जित्ने आशा बढाएको छ। स्पेनिस ला लिगाको शीर्ष स्थानमा रहेको भिल्लारियले सात अंक जोडेको छ।
यस्तै, ६ अंकसहित दोस्रो स्थानमा रहेको सेल्टा भिगो दोस्रो स्थानमा छ। बार्सिलोनाले भ्यालेन्सिया र एथलेटिक बिल्बाओलाई समान २–१ गोलअन्तरले पराजित गरेको थियो।
‘बार्सिलोनाको लक्ष्य सधैं लिग जित्नु हुनुपर्छ,’ फ्लिकले सोमबार पत्रकार सम्मेलनमा भने,‘यो एक लामो बाटो हो, तर हामीले राम्रो सुरुआत गरेका छौं। हाम्रो ध्यान अर्को खेलमा लय कायम राख्नेमा छ।’
भ्यालेन्सिया र एथलेटिक बिल्बाओजस्ता कठिन प्रतिद्वन्द्वीलाई पराजित गर्दै मैदानभित्र र बाहिर कोलाहल मच्चाइरहेको बार्सिलोनाले अब रायो भालेकानोसँग खेल्नेछ। प्रशिक्षक जाभी हर्नान्डेजलाई बर्खास्त गरेपछि बार्सिलोनाले बायर्न म्युनिख र जर्मनीका पूर्वप्रशिक्षक फ्लिकलाई भित्र्याएको थियो।
उनलाई ला लिगाको उपाधि पुनः प्राप्त गर्ने लक्ष्यसाथ बार्सिलोनाले भित्र्याएको हो। फ्लिकले आर्थिक संकटमा रहेको क्लबको जिम्मेवारी लिएका छन्।
बार्सिलोनाले अहिले ला लिगाको वित्तिय नियम पालना गर्न खेलाडीको तलब कटौती गर्ने र अर्को क्लबमा पठाउन गरिरहेको छ। यद्यपि, बार्सिलोनाले अझै वित्तिय नियम पालन गर्न सकेको छैन। त्यसैले स्पेन डानी ओल्मोजस्तै नयाँ खेलाडी ला लिगामा दर्ता हुन सकेको छैन।
म्यानचेस्टर सिटीबाट अनुबन्धित भएको एक सिजनपछि जर्मन मिडफिल्डर इल्के गुन्डोगानलाई फ्रि एजेन्टको रूपमा क्लब छोड्न दिइएको थियो।
सोमबार फ्रान्सेली डिफेन्डर क्लेमेन्ट लेङलेटलाई एट्लेटिको मड्रिड र ब्राजिलियन फरवार्ड भिटोर रोकलाई रियल बेटिसमा छोड्ने घोषणा गरिएको थियो। योसँगै ओल्मोलाई दर्ता गर्न गर्ने बाटो खुलेको छ। उनले स्पेनलाई युरो कप २०२४ जिताउन तीन गोल गरेका थिए।