काठमाडौं। स्विट्जरल्यान्डका डिफेन्डर फाबियन शारले अन्तर्राष्ट्रिय फुटबलबाट सन्न्यास लिएका छन्। उनले सोमबार सन्न्यास लिएका हुन्। युरो कप २०२४ को क्वार्टरफाइनलमा पुग्ने उनी तेस्रो भेट्रान खेलाडी बनेका थिए।
शार, गोलकिपर यान सोमर र प्लेमेकर जेर्डन शाकिरीले संयुक्त रूपमा स्विट्जरल्यान्डका लागि ३०० भन्दा बढी खेल खेलेका छन्। ३५ वर्षीय सोमरले करिब एक साताअघि नै सन्न्यास लिएका थिए। एक सय २५ क्याप जितेका शाकिरीले भने एक महिनाअघि नै बुट थन्काएका थिए।
स्विस फुटबल फेडेरेसनका अनुसार ३२ वर्षीय शारले आफू आफ्नो प्रिमियर लिग क्लब न्युक्यासलबाट खेल्नमा ध्यान केन्द्रित गर्न चाहेको बताएका छन्।
‘स्विट्जरल्यान्डसँग १० वर्ष र ८६ खेल खेलेपछि बिदाइ लिने समय आएको छ,’ उनले भने। राष्ट्रिय टोलीका लागि उनले आठ गोल गरेका छन्।
स्विट्जरल्यान्डका लागि शारको अन्तिम खेल युरो कप २०२४ मा इङ्ल्यान्डसँग बन्यो। उक्त खेलमा इङ्ल्यान्डका बुकायो साकाले खेलको ८०औं मिनेटमा गोल गरेपछि विजेताको छिनोफानो पेनाल्टी सुटआउटमार्फत गरिएको थियो। तर, पेनाल्टी सुटआउटमा स्विट्जरल्यान्डले ५–३ ले पराजित भयो। उनले पेनाल्टी सुटआउटमा गोल गरेका थिए।
स्विट्जरल्यान्डले अर्को हप्ता यूईएफए नेसन्स लिगमा डेनमार्क र स्पेनविरुद्ध खेल्ने छ। स्विट्जरल्यान्डका प्रशिक्षक मुरात याकिनले भने, ‘म उनको निर्णयको सम्मान गर्छु र हाम्रो देशका लागि उनको प्रतिबद्धता र प्रदर्शनका लागि हार्दिक धन्यवाद दिन्छु।’