काठमाडौं। बायर्न म्युनिखका मुख्य प्रशिक्षक भिन्सेन्ट कोम्पनीले बुन्डेसलिगाको पहिलो खेलमा भिएफएल वोल्फ्सबर्गलाई पराजित गरेपछि आफ्नो टोलीको मानसिकताको प्रशंसा गरेका छन्।
खेलको ८२औं मिनेटमा सर्ज ग्नाब्रीले गोल गर्दै जर्मन च्याम्पियन जर्मनीलाई वुल्फ्सबर्गमाथि ३–२ को जित दिलाएका थिए। योसँगै थोमस टुचेलको स्थानमा कोम्पनीले बुन्डेसलिगामा विजयी सुरुआत गरेका थिए।
१९ औं मिनेटमा जमाल मुसियालाले गोल गर्दै बायर्नलाई अग्रता दिलाएका थिए। तर, उक्त अग्रता बायर्नले कायम राख्न सकेन। दोस्रो हाफ सुरु भएको दोस्रो मिनेटमै लोभ्रो माजेरले पेनाल्टीमा गोल गर्दै घरेलु टोली वुल्फ्सबर्गलाई खेलमा फर्काए। त्यसको आठ मिनेटमै उनले अर्को गोल थपे।
तर, ६५औं मिनेटमा जाकुब कामिन्स्कीले आत्मघाती गोल गरेपछि बायर्नलाई खेलमा फर्किने मौका मिल्यो। त्यसमाथि ८२औं मिनेटमा कप्तान ह्यारी केनले मिलाइदिएको पासमा सर्जले गोल थप्दै बायर्नलाई स्पष्ट तीन अंक दिलाइदिए।
बर्नलीका पूर्वप्रशिक्षक कोम्पनीले भने, ‘मैले यसको मजा लिएँ। प्रशिक्षकको रूपमा यो मेरो पहिलो बुन्डेसलिगा खेल थियो। पहिलो हाफमा हामी हावी थियौं। हामीले कुनै पनि मौका गुमाएनौं। दोस्रो हाफ सुरुमै राम्रो भएन, हामीले दुई गोल खाएका थियौं। तेस्रो कुरा के हो भने हाम्रो मानसिकता अन्त्यमा सही थियो। त्यसैले हामीले खेल जित्यौं।’ बायर्नले एक साताभित्र बुन्डेसलिगामा एससी फ्रेइबर्गको सामना गर्नेछ।