काठमाडौं। जर्मनी तथा बायर्न म्युनिखकाअनुभवी खेलाडी थोमस मुलरले बुन्डेसलिगामा कीर्तिमान बनाएका छन्।
३४ वर्षीय मुलरले आइतबार बायर्न म्युनिखका लागि आफ्नो ४७४औं लिग खेल खेलेका थिए। वुल्फ्सबर्गमा भएको उक्त खेलमा बायर्नले ३–२ को जित हासिल गरेको थियो। मुलर भने दोस्रो हाफमा सब्स्टिच्युट खेलाडीको रूपमा मैदान प्रवेश गरेका थिए।
१९औं मिनेटमा जमाल मुसियाले गोल गर्दै बायर्नलाई सुरुआती अग्रता दिलाएका थिए। तर, उक्त अग्रता बायर्नले कायम राख्न सकेन। दोस्रो हाफ सुरु भएको दोस्रो मिनेटमै लोभ्रो माजेरले पेनाल्टीमा गोल गर्दै घरेलु टोली वुल्फ्सबर्गलाई खेलमा फर्काए। त्यसको आठ मिनेटमै उनले अर्को गोल थपे।
तर, ६५औं मिनेटमा जाकुब कामिन्स्कीले आत्मघाती गोल गरेपछि बायर्नलाई खेलमा फर्किने मौका मिल्यो। त्यही समय मुलर मैदान प्रवेश गरेका हुन्। मुलरले यसअघि गोलकिपर सेप मायरसँगको ४७३ खेलको क्लब कीर्तिमान बराबरी गरेका थिए।
युरो कप २०२४ पछि अन्तर्राष्ट्रिय फुटबलबाट मुलरले सन्न्यास लिइसकेका छन्। उनी सन् २००० मा १० वर्षको उमेरमा बायर्नमा आबद्ध भएका थिए । उनले २००८-०९ सिजनमा ह्यामबर्गर एसभीसँग २–२ को बराबरीमा खेल्दा उनी वैकल्पिक खेलाडीको रूपमा मैदान प्रवेश गरेका थिए। उनलाई प्रशिक्षक जर्गेन क्लिन्सम्यानले बुन्डेसलिगामा डेब्यु गराएका हुन्।
मुलरले सबैभन्दा धेरै बुन्डेसलिगा उपाधि जित्ने कीर्तिमान पनि राखेका छन्। उनले जति कुनै पनि खेलाडीले १२ उपाधि जितेका छैनन्। यद्यपि, उनले बुन्डेसालिगामा सबैभन्दा धेरै खेल खेल्ने कीर्तिमान बनाउन अझै खेल्नुपर्छ। किनभने इनट्राक्ट फ्रैंकफर्टका डिफेन्डर कार्ल हेन्ज चार्लीले १९७२– १९९१ को बीच ६०२ बुन्डेसलिगाका खेल खेलेका छन्।