काठमाडौं। बर्नमाउथका प्रशिक्षक एन्डोनी इरोलाले आइतबार न्युक्यासलसँग १–१ गोलको बराबरीपछि भिडियो असिस्टेन्ट रेफ्री (भिएआर)ले प्रिमियर लिगको नियमविपरीत काम गरेको बताएका छन्।
डांगो ओउटाराले इन्जुरी समयमा निर्णायक गोल गरेका थिए। तर, भिएआरले ह्यान्डबल भएको भन्दै गोलको मान्यता दिएन। भिएआरले रेफ्री डेभिड कुटेलाई भिडियो रिप्ले हेर्न नभनी हेरेर निर्णय गरेका थिए। स्लिभ रुलअनुसार काँधमा लाग्दा ह्यान्डबल दिइँदैन।
‘यो धेरै स्पष्ट थियो। मलाई लाग्छ, खेल हेर्ने सबै जना सहमत हुनेछन्,’ इरोलाले भने, ‘मैले भर्खरै भिडियो हेरेको छु। यो विवादास्पद पनि छैन। यो हाम्रो तीन अंक थियो।’
बर्नमाउथका विंगर एन्टोनी सेमेन्योले चेन्जिङ रुममा फर्केएपछि दोस्रो गोललाई मान्यता नदिँदा सबै रिसाएको बताए। ‘हामीले रिप्ले हेरेका छौं। रेफ्रीले गलत निर्णय गरेजस्तो मलाई लागेको छ,’ उनले भने।
न्युक्यासलका म्यानेजर एडी होवेले पनि गोलले मान्यता नपाउँदा आफू आश्चर्यचकित भएको बताएका छन्। ‘मैले सुरुमा गोलमा केही पनि गलत देखेको थिइनँ। यो विवादास्पद निर्णय हो,’ होवेले भने।
बर्नमाउथले गत साता नटिङ्घम फरेस्टसँग १–१ गोलको बराबरी खेलेपछि दुई अंक जोडेको छ। पहिलो चरणमा साउथह्याम्पटनलाई हराएको न्युक्यासलले भने चार अंक जोडेको छ।