काठमाडौं। पाकिस्तान क्रिकेट बोर्ड (पीसीबी) ले ट्वान्टी–२० विश्वकप २०२४ को लागि १५ सदस्यीय टोलीको कप्तानमा फातिमा सानालाई नियुक्त गरेको छ।
उनले ३७ वर्षीया अलराउन्डर निदा दारको स्थान लिनेछन्। यसपटकको ट्वान्टी–२० विश्वकप अक्टोबरमा हुन लागेको छ, जुन हालै बंगलादेशबाट युएईमा सारिएको थियो।
२२ वर्षीया फातिमाले कुनै पनि आईसीसी प्रतियोगितामा पाकिस्तानको कप्तानी गर्ने लागेको यो पहिलोपल्ट हो। उनले यसअघि दुई पटक एकदिवसीय खेलमा पाकिस्तानी टोलीको नेतृत्व गरिसकेकी छन्, जसमा न्युजिल्यान्डविरुद्धको प्रभावशाली जित पनि समावेश छ।
राष्ट्रिय छनोट समितिले कप्तानमा गरेको यो परिवर्तन भएपनि पाकिस्तानको टोली पनि पहिलेको जस्तै रहेको छ। गत महिना महिला ट्वान्टी–२० एसिया कपमा पुर्याउने टोलीमा एक परिवर्तन गरिएको छ। विकेटकिपर ब्याट्सम्यान नाजिहा अल्वीको स्थानमा ब्याट्सम्यान सदफ शामासलाई टोलीमा समावेश गरिएको छ। सन् २०२३ को महिला ट्वान्टी–२० विश्वकपको लागि सदफ पनि टोलीमा थिइन्।
२०२३ को ट्वान्टी–२० विश्वकप खेल्न गएको पाकिस्तानी टोलीका १० खेलाडी १५ सदस्यीय टोलीमा छन्। जसमा आलिया रियाज, मुनीबा अली, नसरा सन्धु, ओमाइमा सोहेल, सादिया इकबाल, सिद्रा अमीन, तोबा हसन, शमास, दार र फातिमा छिन्। बायाँ हाते स्पिनर सादियाको छनोट फिटनेसको विषय हो, जबकि अनक्याप्ड बायाँ हाते तीव्र गतिका बलर तस्मिया रबाब पनि टोलीमा छिन्।
महिला ट्वान्टी–२० विश्वकप अक्टोबर ३ बाट सुरु हुँदैछ। समूह ‘ए’ मा पाकिस्तानसँगै अस्ट्रेलिया, भारत, न्युजिल्यान्ड र श्रीलंका छन्। प्रतियोगिताको परिमार्जित समयतालिका भने सार्वजनिक गरिएको छैन।
पाकिस्तानी टोली–
फातिमा साना (कप्तान), आलिया रियाज, डायना बेग, गुल फिरोजा, इरम जावेद, मुनिबा अली (विकेटकीपर), नसरा सन्धु, निदा दार, ओमाइमा सोहेल, सदफ शमास, सादिया इकबाल (फिटनेसको समस्या), सिद्रा अमीन, सैयदा अरुब शाह, तस्मिया रबाब, तोबा हसन