काठमाडौं। रियल म्याड्रिडबाट डेब्यु गरेका एन्ड्रिकलाई १० मिनेट मात्र चाहिएको थियो। उनी ८६औं मिनेटमा स्ट्राइकर केलियन एमबाप्पेको स्थानमा मैदान प्रवेश गरेका थिए। इन्जुरी समयमा गोल गर्दै ब्राजिलका यी किशोर खेलाडीले भालाडोलिडविरुद्ध रियललाई ३–० को जित दिलाए।
यो गोलसँगै एन्ड्रिकलाई १८ वर्ष ३५ दिनको उमेरमा स्पेनिस लिगमा रियलका लागि गोल गर्ने सबैभन्दा कान्छो विदेशी खेलाडी बनेका छन्। उनले फ्रान्सेली डिफेन्डर राफेल भारानको कीर्तिमान भंग गरेका हुन्। भारानाले सन् २०११ मा १८ वर्ष १५२ दिनको दिनमा गोल गरेका थिए।
रियलका प्रशिक्षक कार्लो एन्सेलोट्टीले एन्ड्रिकबारे भने,‘उनी निकै राम्रा खेलाडी हुन्, धेरै क्षमता छ।’ गत साता मालोर्कामा १–१ गोलको बराबरी खेलेको डिफेन्डिङ च्याम्पियन रियलको ला लिगामा यो पहिलो जित हो।
एम्बाप्पेले सिजनको सुरुमा युइएफए सुपर कपको फाइनलमा एटलान्टामाथि जित हासिल गर्दा गोल गरेका थिए। तर, लिगका सुरुका दुई खेलमा उनले गोल गर्न सकेका छैनन्। सान्टियागो बर्नाबेउ स्टेडियममा उनले रियलका खेलाडीका रूपमा डेब्यु गरेका थिए।
५०औं मिनेटमा फेडेरिको भाल्भर्डेले गोल गर्दै रियललाई सुरुआती अग्रता दिलाए। ८८औं मिनेटमा ब्राहिम डियाजले गोल गर्दै रियलको अग्रता दोब्बर बनाए।
इन्जुरी समयको छैटौं मिनेटमा एन्ड्रिकले गोल थपे र रियललाई ३–० को सहज जित दिलाए। ‘उनी यसको हकदार छन्,’ भाल्भर्डेले एन्ड्रिकको बारेमा भने, ‘उसले अझै पनि यो क्लबको साथ लामो यात्रा तय गर्न बाँकी छ। त्यसैले कडा मेहनत गरिरहनुपर्छ।’
सन् २०२२ मा ब्राजिलको क्लब पाल्मेरासले उनलाई ४० मिलियन युरो (करिब ४५ मिलियन अमेरिकी डलर) मा रियललाई बेचेको थियो। त्यतिखेर एन्ड्रिक १६ वर्षका मात्र थिए। उनी १८ वर्षका भएपछि यसै सिजन रियलमा भित्रिएका हुन्।
रियलले यसअघि नै ब्राजिलका भिनिसियस जुनियर र रोड्रिगोसँग यस्तै सम्झौता गरिसकेको छ, जो अहिले स्पेनिस क्लबसँग नियमित सुरुआत गरिरहेका छन्। युइएफए सुपर कपमा एटलान्टाविरुद्ध र मालोर्कामा यस सिजनका पहिलो दुई खेलमा एन्ड्रिक एक अप्रयुक्त विकल्प थिए।