काठमाडौं। डिफेन्डिङ च्याम्पियन भारत र बंगलादेशले साफ यु–२० च्याम्पियनसिपमा फाइनल प्रवेश गर्न सोमबार प्रतिस्पर्धा गर्दैछन्।
गत संस्करणमा भारतले पेनाल्टी सुटआउटमा बंगलादेशलाई पराजित गर्दै उपाधि जितेको थियो। समूह ‘बी’ को अन्तिम खेलमा भारतले माल्दिभ्सलाई १-० ले पराजित गर्यो। सो नतिजासँगै भारतले सेमिफाइनलमा बंगलादेश प्रतिद्वन्द्वी पाएको हो।
बंगलादेशले श्रीलंकालाई २–० ले पराजित गरेको थियो। तर, नेपालसँग भने बंगलादेश २–१ ले पराजित हुँदै समूहको उपविजेता बन्यो। यो खेलको विजेताले उपाधिका लागि बुधबार घरेलु टोली नेपालसँग प्रतिस्पर्धा गर्नेछ। नेपालले आइतबार भुटानलाई टाइब्रेकरमा ४–१ ले पराजित गर्दै फाइनलमा स्थान बनाएको थियो।