काठमाडौं। नोनी मडुकेको ह्याट्रिक र कोल पाल्मरको एक गोलसँगै तीन असिस्टको मद्दतमा चेल्सीले इङ्लिस प्रिमियर लिगको सानदार जित हासिल गरेको छ।
पहिलो खेलमा डिफेन्डिङ च्याम्पियन म्यानचेस्टर सिटीलाई घरेलु मैदानमा चेल्सीले २–० को नतिजा सुम्पिएको थियो। तर, आइतबार भने वुल्भ्सको घरेलु मैदानको भ्रमण गरेको चेल्सीले ६–२ को फराकिलो नतिजा हात पारेको हो। जितसँगै दुई खेलबाट तीन अंक जोडेको चेल्सी सातौं स्थानमा उक्लिएको छ। समान खेल खेलेको वुल्भ्स अंकविहीन रहँदै रेलिगेसन जोनमा छ।
चेल्सीको जितमा नोनी र पाल्मरबाहेक निकोलस ज्याक्सन र जोआओ फेलिक्स पनि गोल थपे। दोस्रो मिनेटमै ज्याक्सनले चेल्सीको खाता खोलेका थिए। तर, रायन नौरीको पासमा २७औं मिनेटमा म्याथ्यु कुन्हाले गोल गर्दै वुल्भ्सलाई खेलमा फर्काए। पहिलो हाफ सकिन केही सेकेन्ड बाँकी रहँदा ज्याक्सनको पासमा गोल गर्दे पाल्मरले चेल्सीलाई पुनः २–१ को अग्रता दिलाए।
तर, उक्त अग्रता धेरै समय टिक्न सकेन। पहिलो हाफको इन्जुरी समयको छैटौं मिनेटमा जोर्गेन स्ट्रान्ड लार्सनले वुल्भ्सलाई २–२ को बराबरीमा ल्याए।
त्यसपछि नोनी र पाल्मरको जोडी जमेको थियो। नोनीले ४९औं, ५८औं र ६३औं मिनेटमा गोल गर्दै ह्याट्रिक पूरा गरे। उक्त ह्याट्रिक गर्न पाल्मरले नै सम्पूर्ण कथा लेख्दिए। योसँगै चेल्सीले खेलमा ५–२ को अग्रता लिइसकेको थियो। तर, मिखाइलो मुड्रिकको स्थानमा ४६औं मिनेटमा मैदान छिरेका फेलिक्सले पनि एक गोल थपे।
उनी गत बिहीबार मात्रै स्पेनिस क्लब एट्लेटिको मड्रिडबाट चेल्सी फर्किएका हुन्। २४ वर्षीय फेलिक्सले चेल्सीसँग सात वर्षका लागि सम्झौता गरेका छन्।
फेलिक्सले २०२२-२३ सिजनमा चेल्सीमा आफ्नो ६ महिनाको ऋण स्पेल बिताएका थिए। २० खेल खेलेका उनले चार गोल गरेका थिए। बार्सिलोनामा लोनमा खेल्दा उनले ४४ खेलमा १० गोल गरेका थिए। पुरानै क्लबमा फर्किएको चार दिनपछि नै गोलको खाता खोल्न उनलाई पेड्रो नेटोले सहयोग गरे।