काठमाडौं। स्ट्राइकर रोबर्ट लेवान्डोस्कीले दोस्रो हाफमा गोल गरेपछि बार्सिलोनाले शनिबार एथ्लेटिक बिल्बाओमाथि २–१ को जित निकालेको छ।
लेवान्डोस्कीले दुई खेलमा तेस्रो गोल गरेका हुन्। बार्सिलोनाले गत साता भ्यालेन्सियामाथि २–१ को जित निकाल्दा उनले दुवै गोल गरेका थिए।
‘म रोबर्टलाई राम्रोसँग चिन्छु। तर, उनी अझै फर्ममा फर्किएका छन् जस्तो मलाई लाग्दैनन्। किनभने मैले उनलाई सधैं एक खेलाडीको रूपमा देखेको छु,’ बार्सिलोनाका प्रशिक्षक हान्सी फ्लिकले भने।
सन् २०१९–२० र २०२०–२१ को सिजनमा बायर्न म्युनिखमा फ्लिकको प्रशिक्षणमा लेवान्डोस्कीले खेलेका थिए। त्यतिखेर उनले ७१ खेलमा ८३ गोल गर्दै सन् २०२० को च्याम्पियन्स लिगलगायत थुप्रै ठूला उपाधि जितेका थिए।
फ्लिकले भने, ‘म उनीसँग खुसी छु। किनभने यो उनले गरेको गोल मात्र होइन, यो उनको सामूहिक पनि प्रयास हो।’ फ्लिकले ब्राजिलियन विंगर राफिन्हाको पनि प्रशंसा गरे, जसले आक्रमणकारी मिडफिल्डरको रूपमा फेरि उत्कृष्ट प्रदर्शन गरे।
‘राफा जस्तोसुकै आक्रामक पोजिसनमा पनि खेल्न सक्छन्। उनी १० नम्बरको रूपमा पनि खेल्न सक्छन्,’ उनले भने। गाभी, रोनाल्ड अराउजो र फ्रेन्की डी जोङ चोटका कारण मैदानबाहिर छन् भने नयाँ अनुबन्धित खेलाडी डानी ओल्मोले फाइनान्सियल फेयर प्ले (एफएफपी) नियमका कारण ला लिगामा दर्ता हुन सकेका छैनन्।
फ्लिकले भने,‘यस्तो कठिन प्रतिद्वन्द्वीविरुद्ध दुई जित हात पारेपछि म निकै खुसी छु । हामीसँग चोट लागेका खेलाडी छन्, जो खेल्न सक्दैनन्। तर हामीले नियन्त्रण गर्न नसक्ने कुरालाई बेवास्ता गर्छ। डिफेन्समा हामीले राम्रो गरिरहेका छौं।’