काठमाडौं। लेस्टर सिटीका मिडफिल्डर हम्जा चौधरीले बंगलादेशको राष्ट्रिय फुटबल टोलीबाट खेल्ने इच्छा व्यक्त गरेका छन्।
बंगलादेश फुटबल महासंघ (बिएफएफ)का महासचिव इमरान हुसेन तुषारले उक्त कुरा पुष्टि गरेका हुन्। तुषारका अनुसार हम्जाका आमाबाबुले शुक्रबार लण्डनस्थित बंगलादेशी दूतावासबाट उनको राहदानी लिएका छन्।
‘उनका आमाबाबुले राहदानी प्राप्त गरिसकेका छन्। उनले हामीलाई लेखेको पत्रमा बंगलादेशका लागि खेल्ने इच्छा व्यक्त गरेका छन्। हामीले इङ्लिस फुटबल संघलाई नन अब्जेक्सन सर्टिफिकेटका लागि पत्र पठाइसकेका छौं,’ तुषारले भने।
इङ्लिस फुटबल एसोसिएसनबाट स्वीकृति प्राप्त गरेपछि बिएफएफले हम्जालाई बंगलादेशको प्रतिनिधित्व गराउन बाटो खुल्नेछ। तर, उनलाई टोलीबाट खेलाउन भने फिफा प्लेयर्स स्टाटस कमिटीमा निवेदन दिनुपर्नेछ।
प्रशिक्षक जेभियर काब्रेराले पनि हम्जालाई बंगलादेशको प्रतिनिधित्व गराउने इच्छा व्यक्त गरेका छन्। उनले इङ्ल्यान्डमा जन्मेका बंगलादेशी मूलका मिडफिल्डरको नेतृत्व र प्राविधिक क्षमताको प्रशंसा गरे।
‘उनी (हम्जा) टोलीको लागि उपयोगी हुनेछन्। उनी स्तरीय खेलाडी हुन्,’' काबरेराले शनिबार बिएफएफ हाउसमा पत्रकारहरूसँग कुरा गर्दै भने।