काठमाडौं। बार्सिलोनाका पूर्वमिडफिल्डर सेर्गी रोबर्टो इटालियन सिरी ‘ए’ क्लब कोमोमा अनुबन्ध भएका छन्। १४ वर्षको उमेरमा स्पेनिस क्लबमा अनुबन्धित भएका बार्सिलोनाका पूर्वकप्तान दुई वर्षका लागि कोमोमा अनुबन्धित भएका हुन्।
गत सिजन बार्सिलोनासँगको सम्झौता सकिएपछि कोमोसँग फ्रि एजेन्टका रूपमा उनले सम्झौता गरेका हुन्। ‘सेर्गीले आफ्नो सम्पूर्ण करियर विश्वकै उत्कृष्ट क्लबमध्ये एकमा खेलेका छन्,’ क्लबका म्यानेजर सेस्क फाब्रेगासले क्लबको वेबसाइटमा भने, ‘उनी एक बहुमुखी खेलाडी हुन्। मिडफिल्ड, फुलब्याकमा अनुकूलन अनुसार खेल्न सक्छन्।’ उनको अनुभव कोमोका लागि महत्त्वपूर्ण हुनेछ।
३२ वर्षीय रोबर्टोले बार्सिलोनाबाट सात पटक ला लिगा र दुई पटक च्याम्पियन्स लिगको उपाधि जितेका छन्। उनले स्पेनको प्रतिनिधित्व गर्दै ११ गोल गरेका थिए।
आर्सनल, बार्सिलोना र चेल्सीका पूर्व मिडफिल्डर फाब्रेगासको प्रशिक्षणमा रहेका कोमो २१ वर्षपछि गत सिजन इटालियन फुटबलको शीर्ष डिभिजनमा फर्किएको थियो। रियल मड्रिड र म्यानचेस्टर युनाइटेडका पूर्वडिफेन्डर राफेल भारान र इटालीका पूर्वस्ट्राइकर एन्ड्रिया बेलोट्टीलाई क्लबले अनुबन्ध गरेको छ।