सिमरा । आयोजक नवजनजागृति यूवा क्लबले रुस्लान सिमरा गोल्डकपको दशौं संस्करणमा विजयी शुरुवात गरेको छ । घरेलु मैदानमा स्थानिय यूवा खेलाडीले भरिएको नवजनजागृतिले मकवानपुर ११ हेटौंडालाई ३–० ले स्तव्ध पार्यो । नवजनजागृतिको जितमा निरज थापामगरले दुई तथा प्रज्वल थापामगरले एक गोल गरे ।
निकै प्रतिस्पर्धात्मक देखिएको पहिलो हाफ गोल रहित बराबरीमा टुंगिएपनि दोश्रो हाफमा मकवानपुरमाथि आयोजक सिमरा हावी भयो । मकवानपुरविरुद्ध दोश्रो हाफमा तीन गोल गरेको आयोजकसामु मकवानपुरका खेलाडीले पहिलो हाफको लय कायम राख्न सकेनन् ।
खेलको ४६ औं मिनटमा आयोजकका सुरज ठकुरीले हानेको फ्रिकिक मकवानपुरका गोलरक्षक अनिश देउलाले समहाल्न नसक्दा आयोजकले अग्रता लियो । गोलरक्षक देउलाले पञ्च गरेको रिबाउण्ड बललाई सदुपयोग गर्दै आयोजकका निरज थापामगरले गोलमा परिणत गरे ।
खेलको ६० औं मिनटमा आयोजकका लागि प्रज्वल थापामगरले अग्रता दोव्वर पारे । मकवानपुरका डिफेण्डरले क्लिएर गर्न नसकेको बल डिबक्स भित्रै खोस्न सफल प्रज्वलले सहजै गोलमा परिणत गरे ।
खेलको ७१ औं मिनटमा मोहित गुरुङको क्रसमा निरज थापामगरले व्यक्तिगत दोश्रो गोल गर्दै टिमको जित सुनिश्चित गरे । कर्नर एरियाबाट मोहितले डिबक्स भित्र निकालेको क्रसबल निरजले सहजै गोलमा परिणत गरे ।
जितपछि आयोजकका प्रशिक्षक सोनु क्षेत्रीले स्थानिय खेलाडीले भरिएको टिमको प्रदर्शनबाट आफु खुशी भएको बताए । दुईदिन अघि वीरगञ्जमा त्रिभुवन आर्मींसंग भोगेको पराजयले कमि कमजोरी पहिल्याउन मद्दत गरेकाले मकवानपुरविरुद्ध खेल्न सहज भएको क्षत्रीले बताए ।
मकवानपुरका प्रशिक्षक विजयलाल श्रेष्ठले दोश्रो हाफमा आक्रामक खेल्न खोज्दा पराजय बेहोर्नु परेको बताए । पहिलो हाफमा बराबरी खेलेपनि आक्रामक खेल्ने रणनीतिमा खेलाडी सफल नभएको उनको भनाई छ । जुनियर खेलाडीले भरिएको टिमको प्रदर्शन सन्तोषजनकनै रहेको श्रेष्ठले बताए ।
खेलको म्यान अफ दि म्याच आयोजकका निरज थापामगर घोषित भए । उनले दश हजार नगद सहित ट्रफि प्राप्त गरे । शुक्रबार विशाल मेमोरियल फाउण्डेशन वीरगञ्ज र सशस्त्र प्रहरीको एपिएफ क्लबविच प्रतिष्पर्धा हुनेछ ।
प्रतियोगिताको विजेताले ६ लाख तथा उपविजेताले ३ लाख नगद सहित ट्रफि प्राप्त गर्नेछन् ।