काठमाडौं। साफ यु–२० च्याम्पियनसिपअन्तर्गत सेमिफाइनलका दुई खेल सातदोबाटोस्थित एन्फा कम्प्लेक्समै हुने भएको छ ।
एन्फा प्रवक्ता सुरेश शाहका अनुसार साफले पठाएको म्याच कमिस्नरले त्रिपुरेश्वरस्थित दशरथ रंगशालाको मैदान अझै खेलाउन योग्य नदेखिएको रिपोर्ट दिएपछि खेल स्थान सारिएको हो।
‘वर्षा भइरहेको छ। त्यसैले खेलाउन मिल्दैन भनेपछि साफले नै भेन्यु एन्फा कम्प्लेक्स राख्दिएको हो।’ फाइनल खेल भने दशरथ रंगशालामै हुनेछ। यो खेल बुधबार हुनेछ।
यसअघि एन्फाले सेमिफाइनलका खेलहरू दशरथ रंगशालामा हुने बताइएको थियो। समूह ‘बी’ को अन्तिम खेलमा भारतले माल्दिभ्सलाई १–० ले पराजित गरेपछि सेमिफाइनल समीकरण पूरा भएको थियो। नेपाल समूह ‘ए’को विजेता रह्यो। नेपालले श्रीलंकालाई १–० र बंगलादेशलाई २–१ ले पराजित गर्दै ६ अंक जोड्यो। अब नेपालले अर्काे समूहको उपविजेता भुटानसँग खेल्नेछ।
बंगलादेशले भने श्रीलंकालाई २–० ले हराउन सफल भयो। साबिक उपविजेता बंगलादेश समूह चरणमा तीन अंकमै खुम्चियो। अर्को टोली श्रीलंकाभने अंकविहीन हुँदै घर फर्किसकेको छ।
यद्यपि, समूह ‘बी’ मा भारत ६ अंकसहित विजेता बन्यो। पहिलो खेलमा भारतले भुटानमाथि १–० को संघर्षपूर्ण जित हासिल गरेको थियो। माल्दिभ्सलाई २–१ ले पराजित गरेको भुटान समूह उपविजेता बन्यो। माल्दिभ्स भने अंकविहीन रह्यो। सेमिफाइनलमा भारतले बंगलादेशसँग खेल्नेछ।