काठमाडौं। माल्दिभ्सलाई पराजित गर्दै डिफेन्डिङ च्याम्पियन भारत साफ यु–२० च्याम्पियनसिपको सेमिफाइनलमा पुगेको छ।
सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा शुक्रबार भएको समूह ‘बी’ को अन्तिम खेलको इन्ज्युरी समयमा गोल गर्दै भारत अन्तिम चारमा पुगेको हो। यो समूहबाट भारत ६ अंकसहित विजेता बन्यो। भारतले पहिलो खेलमा भुटानलाई १-० ले पराजित गरेको थियोे। सोही नतिजा दोहराउन भारतलाई माङ्लेङथान किपगेनले निर्णायक गोल गरे।
भुटान तीन अंकसहित समूह उपविजेता बन्यो। माल्दिभ्सले भने अन्तिम खेलमा एक अंक जोड्यो।
१८औं मिनेटमा भारतले अग्रता लिने मौका खेर फ्याँक्यो। कोरउ सिंहले दिएको कट पासलाई गोल लाइननजिक अनमार्कमा रहेका मोनिरूल मोल्लाले प्रहार गरेको बलले पोस्टको दिशा लिन सकेन। २२औं मिनेटमा मोनिरूलले अर्को अवसर खेल फ्याँके। कोरउले गरे प्रहार माल्दिभ्सका गोलरक्षकले पुस गर्दै बचाए।
दोस्रो हाफको सुरुआती दुई मिनेटमै भारतले अर्को मौका सदुपयोग गर्न सकेन। माङ्लेङथान किपगेनले माल्दिभ्सका चार डिफेन्डरलाई पेनाल्टी बक्सभित्र छक्काउँदै दिएको बललाई अनमार्कमा रहेका केल्भिन सिंहले प्रहार गरेका थिए। तर, उनले प्रहार गरेको बल माथिल्लो बारबाट आकासियो।
६५औं मिनेटमा रासिद साननले प्रहार गरेको फ्रिकिक बल माथिल्लो बारबाट बाहिरिँदा माल्दिभ्स अग्रता लिन चुके। निर्धारित ९० मिनेटको खेल सकिन ५ मिनेट बाँकी रहँदा माल्दिभ्सले अर्को मौका पुन: गुमायो। हसन मुजधानले प्रहार गरेको बल पोलमा लागेर बाहिरियो।