काठमाडौं। भारत र माल्दिभ्सले साफ यु–२० च्याम्पियनसिपको समूह ‘बी’ को अन्तिम खेलको पहिलो हाफमा गोलरहित बराबरी खेलेका छन्।
सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा जारी खेलमा कुनै टोलीले गोल गर्न सकेनन्। १८औं मिनेटमा भारतले अग्रता लिने मौका खेर फ्याँक्यो। कोरउ सिंहले दिएको कट पासलाई गोल लाइननजिक अनमार्कमा रहेका मोनिरूल मोल्लाले प्रहार गरेको बलले पोस्टको दिशा लिन सकेन। २२औं मिनेटमा मोनिरूलले अर्को अवसर खेल फ्याँके। कोरोउले गरे प्रहार माल्दिभ्सका गोलरक्षकले पुस गर्दै बचाए।
समूह ‘बी’ मा तीनवटै टोलीको अन्तिम चारमा पुग्ने सम्भावना उत्तिकै छ। एक खेल कम खेलेको भारत तीन अंकसहित शीर्ष स्थानमा रहेको छ। उसले प्लेस एक गोल गरेको छ।
समूहचरणका दुवै खेल खेल्दै भारत र माल्दिभ्सको नतिजा कुरिरहेको भुटानको पनि समान तीन अंक छ। माल्दिभ्स भने अंकविहीन रहेको छ। भारतलाई सेमिफाइनल पुग्न बराबरीको नतिजा नै पर्याप्त हुनेछ। तर, माल्दिभ्सलाई भने गर या मरको स्थितिमा रहेको छ। उसलाई जितको विकल्प हुनेछैन।
यो समूहको विजेताले साबिक उपविजेता बंगलादेशसँग प्रतिस्पर्धा गर्नेछ। यस्तै, उपविजेता टोलीले भने नेपालको चुनौती पन्छ्याउन पर्नेछ।