काठमाडौं। डिफेन्डिङ च्याम्पियन भारतले साफ यु–२० च्याम्पियनसिपको समूह ‘बी’ को विजेता बन्न शुक्रबार माल्दिभ्सको सामना गर्दैछ। यही खेलबाट सेमिफाइनल पुग्ने अर्को दुई टोलीको टुंगो लाग्ने छ।
सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा हुने खेल अपरान्ह्र ३ बजेबाट सुरु हुनेछ। अर्को समूहबाट आयोजक नेपाल समूह विजेता र बंगलादेश समूह उपविजेताका रूपमा अन्तिम चारमा पुगिसकेका छन्।
नेपालले श्रीलंकालाई १–० र बंगलादेशलाई २–१ ले पराजित गर्दै ६ अंक जोड्यो। बंगलादेशले भने श्रीलंकालाई २–० ले हराउन सफल भयो। साबिक उपविजेता बंगलादेश समूह चरणमा तीन अंकमै खुम्चियो। अर्को टोली श्रीलंकाभने अंकविहीन हुँदै घर फर्किसकेको छ।
यद्यपि, समूह ‘बी’ मा तीनवटै टोलीको अन्तिम चारमा पुग्ने सम्भावना उत्तिकै छ। एक खेल कम खेलेको भारत तीन अंकसहित शीर्ष स्थानमा रहेको छ। उसले प्लेस एक गोल गरेको छ।
समूहचरणका दुवै खेल खेल्दै भारत र माल्दिभ्सको नतिजा कुरिरहेको भुटानको पनि समान तीन अंक छ। माल्दिभ्स भने अंकविहीन रहेको छ। भारतलाई सेमिफाइनल पुग्न बराबरीको नतिजा नै पर्याप्त हुनेछ। तर, माल्दिभ्सलाई भने गर या मरको स्थितिमा रहेको छ। उसलाई जितको विकल्प हुनेछैन।
यो समूहको विजेताले साबिक उपविजेता बंगलादेशसँग प्रतिस्पर्धा गर्नेछ। यस्तै, उपविजेता टोलीले भने नेपालको चुनौती पन्छ्याउन पर्नेछ।