काठमाडौं । नेपाली राष्ट्रिय महिला फुटबल टोलीले मासिक तलब र भत्ता पाउने भएको छ । अखिल नेपाल फुटबल संघ (एन्फा) ले बिहिबार महिला टोलीलाई मासिक तलब र भत्ता उपलब्ध गराउने निर्णय गरेको छ ।
बिहिबार बसेको एन्फाको कार्यसमिति बैठकले नेपाली टोलीलाई मासिक तलब उपलब्ध गराउने निर्णय गरेको हो । एन्फाले महिला टोलीलाई मासिक ७ हजार तलब र साढे ३ हजार दिने निर्णय गरेको छ । यसअघि राष्ट्रिय महिला टोलीले तलब र भत्ता पाउने गरेको थिएन् ।
यस्तै एन्फाले ओलम्पिक महिला फुटबलका लागि एसियन छनोटको दोस्रो चरणमा पुग्न सफल नेपाली राष्ट्रिय टोलीलाई नगदसहित सम्मानित गर्ने निर्णय समेत गरेको छ । एन्फाको कार्यसमिति बैठकले महिला टोलीका प्रत्येक सदस्यलाई जनही ५० हजारबाट सम्मानित गर्ने निर्णय गरेको हो ।
म्यानमारमा गत कार्तिकमा सम्पन्न पहिलो चरणको एसिया छनोटबाट नेपालले दोस्रो चरणको लागि स्थान पक्का गरेको थियो । सन् २०२० मा जापानमा आयोजना हुने ओलम्पिकका लागि भएको छनोटमा नेपालले तीन खेलमा बराबरी खेल्दै दोस्रो चरणमा स्थान पक्का गरेको थियो । यो नेपाली महिला फुटबलको ऐतिहासिक सफलता हो ।
त्यस्तै एन्फाले एएफसी यू-१९ महिला च्याम्पियनसिप छनोटको दोस्रो चरणमा पुग्न सफल नेपाली टोलीलाई जनही २५ हजारबाट सम्मान गर्ने निर्णय गरेको छ । गत कार्तिकमा थाइल्याण्डमा सम्पन्न छनोटमा नेपाल उपविजेता बन्दै दोस्रो चरणमा प्रवेश गरेको थियो । नेपालले भारत र पाकिस्तानलाई पराजित गर्दै उपविजेताको रुपमा दोस्रो चरणमा प्रवेश गरेको थियो ।