काठमाडौं। अफगानिस्तान क्रिकेट बोर्ड (एसीबी) ले भारतका पूर्वफिल्डिङ प्रशिक्षक आर श्रीधरलाई आफ्नो टोलीको सहायक प्रशिक्षकमा नियुक्त गरेको छ। उनी न्युजिल्यान्ड र दक्षिण अफ्रिकाविरुद्धको सिरिजमा सहभागी हुनेछन्। उनी सन् २०१४ देखि २०२१ सम्म लगातार सात वर्ष भारतीय टोलीको फिल्डिङ प्रशिक्षक थिए।
अफगानिस्तानले सेप्टेम्बरमा न्युजिल्यान्डसँग टेस्ट र त्यसपछि दक्षिण अफ्रिकासँग तीन खेलको एकदिवसीय सिरिज खेल्नेछ। टेस्ट म्याच भारतको ग्रेटर नोएडामा र एकदिवसीय सिरिज शारजाहमा खेलिनेछ।
९० को दशकमा हैदरावादका लागि बायाँ हाते स्पिनरको रूपमा खेल्ने ५४ वर्षीय श्रीधरले सन् २००१ मा आफ्नो कोचिङ करियर सुरु गरेका थिए। उनी २०१४ मा यु-१९ विश्वकपको लागि भारतीय जुनियर टोलीमा काम गरेका थिए। सोही वर्ष उनी आईपीएलमा किंग्स इलेभेन पञ्जाब टोलीमा पनि समावेश भए। त्यसपछि उनी यसै वर्ष भारतीय टोलीमा पनि आबद्द भएका थिए।
श्रीधर लेभल-३ प्रमाणित प्रशिक्षक हुन्। एसीबीले श्रीधरलाई भविष्यमा लामो सम्झौता पनि दिनसक्ने बताएको छ।