काठमाडौं। बंगलादेशले अर्को महिना भुटानसँग दुई अवे मैत्रीपूर्ण खेल खेल्ने भएको छ। फिफा विन्डोमा यी दुई राष्ट्रले मैत्रीपूर्ण खेल खेल्न लागेका हुन्। बंगलादेशको टोली अगस्ट ३० मा भुटान प्रस्थान गर्नेछ ।
प्रतियोगिताको पहिलो खेल सेप्टेम्बर ५ र दोस्रो खेल सेप्टेम्बर ८ मा हुने बंगलादेश फुटबल महासंघले जनाएको छ। यसअघि यो खेल बंगलादेशमै हुने तय थियो। तर, राजनीतिक विद्यार्थी आन्दोलनका कारण भुटानले बंगलादेशको भ्रमण नगर्ने इमेल पठायो। त्यसैले बंगलादेश नै भुटान जान लागेको महासचिव इमरान हुसेन तुषारले जानकारी दिए।
‘हामी सेप्टेम्बरको विन्डोमा भुटानसँग खेल्ने यसअघि नै तय गरेक थियौं। तर, बंगलादेशको वर्तमान अवस्थालाई लिएर भुटान चिन्तामा थियो। उनीहरूले सोमबार यहाँ नआउने भनेपछि हामी भुटान गएर खेल्न लागेका हौं,’ उनले भने।
एसियन कप छनोटको आगामी ड्रमा पोट–४ को साटो पोट–३ हासिल गर्ने लक्ष्यका साथ फिफा वरीयता वृद्धि गर्ने लक्ष्य आफ्नो रहेको उनले सुनाए। त्यसैले भुटानलाई विपक्षीका रूपमा छनोट गरेको उनको भनाइ छ।
बंगलादेश र भुटानबीच अहिलेसम्म ११ खेल भएका छन्। ती खेलमध्ये दुई बराबरीमा सकिएको छ। सन् २०१६ अक्टोबरमा भएको एएफसी एसियन कप छनोटमा भने भुटानले बगलादेशमाथि ३–१ को जित निकालेको थियो। त्यसयता भएका चार खेलमा बंगलादेश अपराजित छ।