काठमाडौं। इङ्लिस प्रिमियर लिग क्लब चेल्सीबाट खेलाडी बाहिरिने क्रम बढेको छ। यसैबेला इङ्ल्यान्डका रहिम स्टर्लिङ र बेन चिलवेललाई पनि चेल्सीबाट बाहिरिने क्रममा रहेका छन्।
यसैबीच चेल्सीका प्रशिक्षक एन्जो मारेस्काले स्टर्लिङ आफूले चाहेको जस्तो विंगर नभएको बताएका छन्। ‘म यो भन्दिन कि उनी राम्रो खेलाडी होइनन्। तर, म विभिन्न प्रकारका विंगर मन पराउँछु,’ इटालियन प्रशिक्षकले भने। दुई वर्षअघि म्यानचेस्टर सिटीबाट उनी चेल्सी भित्रिएका थिए। उनले चेल्सीका लागि ५९ लिग खेल खेलिसकेका छन्।
लिगमा म्यानचेस्टर सिटीसँग २–० ले पराजित हुँदा स्टर्लिङ र चिलवेल बेन्चमा रहेका थिए। चेल्सीमै रहने निर्णय गरेमा यी दुई खेलाडीले समय निकाल्न संघर्ष गर्नुपर्ने मारेस्काले बताएका छन् ।
बिहीबार हुने युरोपा कन्फ्रेन्स लिगको प्लेअफमा स्विट्जरल्यान्डको सेर्भेटसँग खेल्नुअघि मारेस्काले पत्रकारसँग भने, ‘यो क्षणमा उनीहरू अलग्गै अभ्यास गरिरहेका छन्। हामीसँग ठूलो टोली छ। मेरो लागि सबैलाई समय दिन असम्भव छ। क्लबमै रहने हो भने उनीहरूले समय निकाल्न पर्छ। नत्र छोड्दा राम्रो हुन्छ।’