काठमाडौं। भुटान साफ यु–२० च्याम्पियनसिपको सेमिफाइनलनजिक पुगेको छ।
सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा जारी खेलमा भुटानले माल्दिभ्सलाई २–१ ले पराजित गर्दै भुटान अन्तिम चारनजिक पुगेको हो।
योसँगै समूह ‘बी’ को पहिलो खेलमा भुटानलाई १–० ले पराजित गर्दै ३ अंक जोडेको भारतको भने माल्दिभ्ससँगको नतिजा कुर्नुपर्ने भएको छ।
यो समूहमा भुटान र भारतको समान ३ अंक रहेको छ। माल्दिभ्स भने अंकविहीन रहेको छ। अहिले गोलअन्तर एक रहेकोले डिफेन्डिङ च्याम्पियन भारत नै समूहको शीर्ष स्थानमा छ। भारतलाई सेमिफाइनल पुग्न बराबरीको नतिजा नै पर्याप्त हुनेछ। यही खेलबाट समूह विजेताको टुङ्गो लाग्नेछ।
२२औं मिनेटमा भुटानले अग्रता बनायो। जिग्नम दोर्जीले दिएको कट पासमा माल्दिभ्सका गोलरक्षक मोहम्मद यमिनले सही जजमेन्ट गर्न नसक्दा जित्सुन दोर्जीले खाली पोस्टमा गोल गरे।
५१औं मिनेटमा भुटान १० खेलाडीमा समेटियो। कप्तान राशिद शानानले वान भर्सेस वानको मुभ बनाउँदा डीबक्सभन्दा बाहिर आएर बल बचाउने क्रममा गोलरक्षक सोनम तेन्जिङले हातले बल छुन पुगेपछि रातो कार्ड पाए।
त्यसको फाइदा उठाउँदै माल्दिभ्स खेलमा फर्कियो। प्राप्त फिकिकलाई फिराकले सिधै प्रहार गर्दा भुटानका दोस्रो रोजाइका गोलरक्षक लोछो निमाले रोक्न सकेनन्। उनी स्याङ्गेको स्थानमा मैदान छिरेका थिए।
निर्धारित ९० मिनेटको खेल सकिन केही सेकेन्ड बाँकी रहँदा भुटानले पुन: अग्रता लियो। जिग्मेले अगाडि फ्याँकेको बल माल्दिभ्सको डिफेन्डरलाई डिफ्लेक्ट हुँदै जित्सुनसममम पुगेको थियोे। उनले माल्दिभ्सका दुई डिफेन्डरलाई बिट गर्दै दिएको बल अनमार्क रहेका न्गाङ्ग छोपेलले जाली चुमाए।