काठमाडौं। न्युयोर्कको नासाउ काउन्टी स्टेडियम र तारुबाको ब्रायन लारा एकेडेमीमा भएको ट्वान्टी-२० विश्वकपका दुई खेलका लागि तयार पारिएको पिचलाई आईसीसीले असन्तोषजनक मूल्यांकन गरेको छ।
न्यूयोर्कमा भएको दुई खेलमा कुनै पनि टोलीले १०० रनको अंक पार गर्न सकेनन्। जुन ३ मा श्रीलंका र दक्षिण अफ्रिकाबीच प्रतिस्पर्धा भएको थियो। उक्त खेलमा दक्षिण अफ्रिकीले श्रीलंकालाई ७७ रनमा रोकेको थियो। त्यसको दुई दिनपछि न्युयोर्कमा भारत र आयरल्याज्डबीचको खेल भयो जसमा भारतले आफ्नो विपक्षी टोलीलाई ९६ रनमा अलआउट गरेको थियो।
भारत र आयरल्यान्डबीचको खेलमा धेरै खेलाडी घाइते भएका थिए। पिचमा भएको दोहोरो बाउन्सले रोहित शर्मालाई पनि चोट पुर्याएको थियो। जसका कारण उनी रिटायर्ड हर्ट हुन परेको थियो। यसबाहेक खेलमा ह्यारी ट्र्याक्टर र ऋषभ पन्त पनि घाइते भएका छन्।
त्यसबेला एन्डी फ्लावरले त्यो पिच खतरनाक रहेको बताएका थिए। न्युयोर्कको त्यो मैदान मात्र पाँच महिनामा तयार भएको थियो। विश्वकपमा त्यहाँको पिचको निकै आलोचना भएको थियो। त्यसपछि आईसीसीले पनि त्यहाँको पिचको गुणस्तर राम्रो नभएको स्वीकार गरेको थियो। त्यो अवधिमा न्युयोर्कमा जम्मा आठ खेल खेलिएका थिए।
ब्रायन लारा क्रिकेट एकेडेमीको पिच ब्याटिङका लागि सहज थिएन। सोही पिचमा वेस्ट इन्डिजले न्युजिल्यान्डविरुद्ध १४९ रनको स्कोर रक्षा गरेको थियो।