काठमाडौं । विभागीय टिम नेपाल पुलिस क्लब तेस्रो संस्करणको नेपाल आइस सुदूरपश्चिम खप्तड गोल्डकप फुटबलको फाइनलमा प्रवेश गरेको छ ।
बिहिबार भएको दोस्रो सेमिफाइनलमा सीएमजी संकटा क्लबलाई पेनाल्टी सुटआउटमा ५-४ गोल अन्तरले हराउदै पुलिस उपाधि नजिक पुगेको हो ।
धनगढीको क्षेत्रिय रंगशालामा खेलको निर्धारित ९० मिनेट गोलरहित बराबरीमा सकिएपछि खेलको निर्णय पेनाल्टी सुट आउटबाट गरिएको थियो ।
पेनाल्टीमा पुलिसका गोलकिपर रोशन खड्का नायक बन्दा संकटा पराजित भयो । पुलिसका गोलकिपर रोशनले संकटाका सुवास गुरुङको पेनाल्टी प्रहार बचाए । पेनाल्टीकै लागि पुलिसले खेलको ९० औं मिनेटमा शत्रुघन चौधरीको स्थानमा रोशनलाई मैदान छिराएको थियो ।
पेनाल्टीमा पुलिसका अविशेक रिजाल,अजित भण्डारी, हरि कठायत, तीर्थ राना मगर र बिक्रम धिमालले गोल गरे । संकटाका अमित तामाङ, लक्ष्मण रुचाल, म्याक्स्वेल र सरोज दाहालले गोल गरे ।
खेलमा म्यान अफ दि म्याच रोशन चुनिए ।
अब पुलिसले उपाधिका लागि थ्री स्टार क्लबसंग प्रतिस्पर्धा गर्नेछ । थ्री स्टार मेची नेत्रालयलाई २ - ० गोल अन्तरले हराएर फाइनलमा पुगिसकेको छ ।
मोफसलकै सर्बाधिक पुरस्कार राशीको प्रतियोगिताको विजेताले २१ लाख र उपविजेताले १० लाख रुपैयाँ हात पार्नेछन् ।