इलाम। ताप्लेजुङलाई विशेष गरेर तेस्रो अग्लो शिखर कञ्चनजंघा र पाथीभरा मन्दिरले चिनिन्छ। तर, ताप्लेजुङ चिनाउने अर्को आधार हो, रेड पान्डा।
साइटिसको अनुसूची १ र आइयुसिएनको रातो किताबमा अति संकटापन्न सूचीमा रेड पान्डा सूचीकृत छ। विश्वमा लोपोन्मुख रहेको रेड पान्डा जोगाउने उद्देश्यसाथ दोस्रो ताप्लेजुङ गोल्डकपको मस्कटमा फुटबल हान्दै गरेको रेड पान्डा राखिएको छ।
लाखे जात्रा सञ्चालक समितिको आयोजनामा आगामी १० गतेसम्म चल्ने प्रतियोगिताले रेड पान्डा जोगाउन सन्देश दिने अध्यक्ष देवराज गुरुङले बताए। ‘विश्वको पाँच देशमा मात्र पाइने रेड पान्डा दुर्लभ प्राणी हो। नेपालमा रेड पान्डा पाइने जिल्लामा ताप्लेजुङसमेत पर्छ। ताप्लेजुङमा संरक्षण अभियानपछि पाथीभरा जाने यात्रीले खिचेको फोटो र भिडियो भाइरल भइरहेको छ। यसको चोरी सिकारी नगरौं भन्ने सन्देश दिन फुटबलको सहारा लिएका हौं,’ उनले भने।
एक सातामा करिब एक लाख दर्शकले मैदानमा आएर फुटबल हेर्ने अपेक्षा उनले राखेका छन्। त्यसैले यसको महत्त्व प्रत्यक्षरूपमा बुझाउन सहज हुने उनी बताउँछन्। भानुजन माध्यमिक विद्यालयको मैदानमा जारी प्रतियोगिता हेर्न यसपल्ट स्थायी र अस्थायी गरी १२ हजारभन्दा बढी दर्शकलाई समेट्न सक्ने क्षमताको पारापिट निर्माण गरिएको छ।
प्रतियोगितामा घरेलु टिम संघर्ष स्पोर्टिङ क्लब, पाँचथर फुटबल क्लब, सिराहाको सलहेश युवा, नेपाल सुपर लिग क्लब बुटवल लुम्बिनी, मोरङको सगरमाथा युथ क्लब, विभागीय टोली त्रिभुवन आर्मी क्लब, झापाको बिर्तामोड युनाइटेड फुटबल क्लब र भारतको सिलगुढीस्थित कञ्चनजंघा फुटबल क्लब सहभागी छन्।
प्रतियोगिताका विजेताले पाँच लाख, उपविजेताले दुई लाख ५० हजार ५५५ रुपैयाँ रुपैयाँसहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछन्। उद्घाटन खेलमा घरेलु टोलीले कञ्चनजंघालाई ७–५ ले हराउँदै सेमिफाइनलमा स्थान सुरक्षित गरेको छ। पहिलो संस्करणमा विजेताले तीन लाख ११ हजार १११ र उपविजेताले एक लाख ११ हजार १११ रुपैयाँ पाएका थिए। यस पटक पुरस्कार राशिमा वृद्धि गरिएको छ।
विधागत पुरस्कारतर्फ सर्वोत्कृष्ट खेलाडीलाई १५ हजार रुपैयाँ नगद, ट्रफी, मेडल र प्रमाणपत्र प्रदान गरिनेछ। उत्कृष्ट गोलकर्ता, फरवार्ड, उदयमान खेलाडी, गोलकिपर, डिफेन्स, मिडफिल्डर र प्रशिक्षकलाई जनही १० हजार रुपैयाँ नगदसहित ट्रफी, मेडल र प्रमाणपत्र प्रदान गरिनेछ।
प्रत्येक खेलका म्यान अफ द म्याचलाई पाँच हजार रुपैयाँ नगदसहित ट्रफी, मेडल र प्रमाणपत्र प्रदान गरिनेछ। यस पटक फ्यान अफ दि डेको समेत व्यवस्था गरिएको छ। सोमबारको खेलमा निशा गुरुङ फ्यान अफ दि डे घोषित भएका थिए। उनले नेपाली राष्ट्रिय टोलीका कप्तान किरण चेम्जोङको हस्ताक्षर भएको फुटबल प्राप्त गरे।