काठमाडौं। अस्ट्रेलियाली टेस्ट टोलीका कप्तान प्याट कमिन्सले भारतविरुद्ध वर्षको अन्त्यमा हुने बोर्डर–गावस्कर ट्रफीअघि आठ हप्ताको विश्राम लिने भएका छन्।
अस्ट्रेलियाले सन् १९९२ पछि पहिलो पटक भारतसँग ५ म्याचको टेस्ट सिरिज खेल्दै छ, जुन २२ नोभेम्बरबाट सुरु हुनेछ। सिरिजलाई ध्यानमा राख्दै कमिन्सले आफूलाई फिट राख्न दुई महिनाको ब्रेक लिने निर्णय गरेका हुन्।
कमिन्स स्कटल्यान्ड र इङ्ल्यान्डविरुद्धको सीमित ओभरको सिरिजमा सहभागी हुने छैनन्। कमिन्सले भने, ‘म विश्व टेस्ट च्याम्पियनसिपको फाइनलदेखि लगातार खेलिरहेको छु र अहिले लगभग १८ महिना भइसक्यो। मलाई रिलिफ हुन र मेरो शरीरलाई आराम राख्न सात–आठ हप्ताको ब्रेक चाहिन्छ। यसले चोटपटकको जोखिम पनि कम गर्छ।’
गत वर्षको जुनदेखि नै उनी व्यस्त छन्। उनले विश्व टेस्ट च्याम्पियनसिपको फाइनलमा भाग लिए। यसपछि उनले एसेज सिरिज, एकदिवसीय विश्वकप २०२३, आईपीएल २०२४ र टी–२० विश्वकप पनि खेलेका थिए। जसका कारण आगामी महत्त्वपूर्ण सिरिजअघि यी फास्ट बलरलाई आराम लिन आवश्यक भएको छ।
कमिन्स अस्ट्रेलियाले २०१७ यता जित्न नसकेको बोर्डर–गावस्कर ट्रफी जित्न इच्छुक छन्। कमिन्सले भने,‘यो त्यस्तो ट्रफी हो जुन मैले जितेको छैन। हाम्रो टोलीमा यस्ता धेरै खेलाडी छन् जो अझै पनि यसबाट वञ्चित छन्।’
अस्ट्रेलियाले भारतसँगको पछिल्लो दुई टेस्ट सिरिजमा हार बेहोरेको छ। भारतले सन् २०१८–१९ र २०२०–२१ मा टेस्ट सिरिजमा कंगारु टोलीलाई पराजित गरेको थियो। तर, आगामी सिरिज दुवै टोलीका लागि निकै महत्त्वपूर्ण छ।