काठमाडौं। स्विट्जरल्यान्डका नम्बर वान गोलरक्षक यान सोमरले एक दशकको लामो अन्तर्राष्ट्रिय फुटबलबाट सन्न्यास लिएका छन्। यानले सोमबार ३५ वर्षको उमेरमा सन्न्यास लिएका हुन्।
यानको सन्न्याससँगै बोरुसिया डर्टमुन्डका ग्रेगर कोबेलले पहिलो रोजाइ पोस्ट सम्हाल्नेछन्। सन् २०१२ मा स्विट्जरल्यान्डको टोलीमा डेब्यू गरेका यानले तीन विश्वकप र तीन युरो कप खेलेका थिए।
गत महिना जर्मनीमा भएको युरो कप २०२४ को क्वार्टरफाइनलमा इङ्ल्यान्डसँग १–१ गोलको बराबरी खेलेपछि उनले ९४ खेलमध्ये अन्तिम खेल पेनाल्टी सुटआउटमा गुमाए। युरो कप २०२० को अन्तिम १६ को खेलमा फ्रान्सलाई ३–३ गोलको बराबरीमा रोकेपछि किलियन एमबाप्पेको पेनाल्टीलाई बचाएर योनले उत्कृष्ट प्रदर्शन गरेका थिए।
उनले इटालीमा आफ्नो पहिलो सिजनमा इन्टर मिलानलाई सिरी ‘ए’ जिताउन महत्त्वपूर्ण भूमिका खेलेका थिए। बायर्न म्युनिखसँग जर्मनीमा र बासेलसँग स्विट्जरल्यान्डमा चार पटक लिग उपाधि पनि उनले जिते।
२६ वर्षीय कोबेलले स्विट्जरल्यान्डका लागि पाँच पटक खेलेका छन्। सन् २०२२ को विश्वकपमा सर्बियामाथि ३–२ को जित हात पार्दा उनले पोस्ट सम्हालेका थिए। स्विट्जरल्यान्डले आगामी सेप्टेम्बर ५ र ८ मा डेनमार्क र युरो कप २०२४ को विजेता स्पेनसँग खेल्नेछ।