काठमाडौं। रियल मड्रिडका प्रशिक्षक कार्लो एन्सेलोट्टीले ला लिगा सिजनको पहिलो खेलमा मालोर्कासँग १–१ गोलको बराबरी खेल्दा आफ्नो टोलीको सन्तुलन र खराब डिफेन्डिङको आलोचना गरेका छन्।
१३औं मिनेटमा रोड्रिगोले गोल गर्दै रियललाई सुरुआती अग्रता दिलाएका थिए। तर, ५३ औं मिनेटमा वेदात मुरिकीले गोल गर्दै मालोर्कालाई खेलमा फर्काए। ‘आज म खुसी छैन। मलाई लाग्छ हामीले अझ राम्रो गर्न सक्थ्यौं,’ निराश एन्सेलोट्टीले खेलपछि भने, ‘हामी अधिक एकाग्र हुन र एक समूहको रूपमा खेल्न आवश्यक छ। यो फिटनेसको समस्या होइन, मानसिक समस्या हो।’
एन्सेलोट्टीले आफ्नो टोलीको डिफेन्डरको विशेष आलोचना गर्दै थप अनुशासित प्रदर्शनको खाँचो रहेको बताए। उनले रियलले आफ्नै गल्तीका कारण सजिलै हार बेहोर्न सक्ने भन्दै आफ्ना खेलाडीलाई शनिबारको गल्तीबाट छिटो सिक्न आग्रह गरे।
‘अग्रता लिँदै खेलमा राम्रो सुरुआत गरेका थियौं। तर, त्यसपछि दोस्रो गोल गर्ने मौका गुमायौं। हामीले दोस्रो हाफमा सन्तुलन मिलाउन सकेनौं। त्यसैले हार्न पुग्यौं। यो राम्रो खेल थिएन। हामीले अझ राम्रो प्रतिरक्षा गर्न आवश्यक छ। हामी धेरै आक्रामक टोली हौं, तर रक्षात्मक सन्तुलन हुन जरुरी हुन्छ,’ उनले भने।