काठमाडौं। स्ट्राइकर एर्लिङ हालान्डले म्यानचेस्टर सिटीका लागि १०० खेलमा ९१ गोल पूरा गरेका छन्।
इङ्लिस प्रिमियर लिगअन्तर्गत आइतबार चेल्सीमाथि २–० को जित निकाल्दा उनले पहिलो गोल गरेका थिए। योसँगै लगातार पाँचौं पटक प्रिमियर लिगको उपाधि जित्ने अभियानसहित मैदान उत्रिएको सिटीले सुखद सुरुआत गरेको छ।
नर्वेजियन खेलाडी सन् २०२२ मा सिटीमा आबद्ध भएका थिए। त्यसयता उनले प्रिमियर लिगका तीन सिजनको पहिलो खेलमा सिटीका लागि पाँच गोल गरेका छन्। उनले समरमा पूर्ण आराम पाएका थिए। युरो कपमा छनोट हुन नसक्दा नर्वे समरमा अन्तर्राष्ट्रिय फुटबलविहीन भएको थियो।
सिटीका प्रशिक्षक पेप ग्वार्डिओलाले भने, ‘गत सिजनको तुलनामा अहिले उनले राम्रो महसुस गरिरहेका छन्।’ हालान्डले १८औं मिनेटमा गोल गर्दै टोलीलाई अग्रता दिलाएका थिए। ८४ औं मिनेटमा माटेओ कोभासिचले गोल गर्दै चेल्सीका नयाँ प्रशिक्षक एन्जो मारेस्कालाई निराशाजनक नतिजा थमाइदिए।