काठमाडौं। साबिक विजेता म्यानचेस्टर सिटीले इङ्लिस प्रिमियर लिगमा जितसहित उपाधि रक्षा यात्रा थालेको छ।
स्ट्यामफोर्ड ब्रिजमा आइतबार राति भएको पहिलो खेलमा सिटीले घरेलु टोली चेल्सीलाई २–० ले पराजित गरेको हो। सिटीको जितमा एर्लिङ हालान्ड र माटेओ कोभासिचले गोल गरे।
१८औं मिनेटमै सिटीले खेलमा अग्रता लिएको थियो। बर्नार्डो सिल्भाको पासमा नर्वेका हालान्डले डिफेन्डर मार्क कुकुरेला र वेस्ले फोफानाको जोडीलाई बिट गर्दै गोल गरे।
हालान्डले स्काई स्पोर्ट्ससँग भने, ‘तीन अंक, एक राम्रो सुरुआत।’ चेल्सीका पूर्वमिडफिल्डर कोभासिचले खेल सकिन ६ मिनेट बाँकी छँदा अर्को गोल थपे। लगातार पाँचौं पटक उपाधि जित्ने दाउमा रहेको सिटीले चेल्सीको तुलनामा बलमा बढी पकड जमाएको थियो।
मुख्य प्रशिक्षक ग्वार्डिओलाले आफूले यस्तो नतिजा अपेक्षा नगरेको बताए। ‘मैले यस्तो अपेक्षा गरेको थिइनँ। तर, तीन अंक हासिल गरेका छौं। यद्यपि, ६५ खेल बाँकी छन्,’ उनले भने।