काठमाडौं। घरेलु टोली नेपालले साफ यु–२० च्याम्पियनसिपमा संघर्षपूर्ण जितसहित सुखद सुरुआत गरेको छ।
सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा आइतबार भएको उद्घाटन खेलमा नेपालले श्रीलंकालाई १–० ले पराजित गरेको हो। जितसँगै समूह ‘ए’ मा रहेको नेपालले महत्त्वपूर्ण तीन अंक जोडेको छ। नेपालले दोस्रो खेल बिहीबार बंगलादेशसँग खेल्ने छ। श्रीलंकाले भने मंगलबार बंगलादेशसँग खेल्ने छ।
नेपालका लागि निराजन धामीले गरेको गोल नै निर्णायक बन्यो। निराजनले २३औं मिनेटमा गोल गरेका थिए। फ्रिककबाट आएको बललाई समीर तामाङले बाइसाइकल किक प्रहार गरेका थिए। तर, उक्त बल श्रीलंकाका खेलाडीलाई लाग्न पुगेको थियो। रिबाउन्डमा आएको सोही बललाई उनले जाली चुमाए।
खेलमा तुलनात्मक रूपमा बल पोजिसनमा पकड जमाएको नेपाल फिनिसिङमा भने बारम्बार चुक्न पुग्यो। जसकारण प्रतियोगिताकै कमजोर मानिएको श्रीलंकाविरुद्ध जित निकाल्न निकै संघर्ष गर्नुपर्यो।