काठमाडौं। एसी मिलानका नयाँ प्रशिक्षक पाउलो फोन्सेकाले सिरी ‘ए’ मा आफ्नो टोलीले उत्कृष्ट सुरुआत गर्न नसकेको स्वीकार गरेका छन्। अल्भारो मोराटा र नोआ ओकाफोरले दुई गोल गर्दै मिलानलाई २–२ को बराबरीमा रोकेका थिए।
फोन्सेकाले स्काई स्पोर्ट इटालियासँगको कुराकानीमा भने, ‘मैले खेलअघि हामी यो चरणमा उत्कृष्ट हुनेछौं भनेर सोचेको थिइनँ। हाम्रो पहिलो ४५ मिनेट राम्रो थिएन। हाम्रो खेल कस्तो छ थाहा छ। त्यसैले धेरै सुधार गर्न आवश्यक छ।’
फोन्सेकाले मालिक थियावको आत्मघाती गोलसहित रक्षात्मक त्रुटि रहेको पनि बताए। त्यसका बावजुद समस्या टोलीको कुनै एक भागमा मात्र सीमित नभएको उनको भनाइ थियो।
‘डिफेन्डरमा मात्र होइन, टोलीमै समस्या छ। पहिलो हाफमा हामीले उच्च दबाब दिएका थिएनौं र यसले टोरिनोलाई हामीमाथि आक्रमण गर्न सजिलो बनायो,’ उनले भने,‘दोस्रो हाफ फरक थियो। हामी बढी आक्रामक थियौं र खेल जित्ने पर्याप्त अवसर थियो।’
मिलानका लागि आफ्नो प्रतिस्पर्धात्मक डेब्युमा गोल गरेका मोराटाले फोन्सेकासँग सहमति जनाएका छन्। उनले पनि सिजनको सुरुआत राम्रो गर्न नसकेको बताए। ‘यो राम्रो डेब्यु रहेन। हामी सन्देश दिन चाहन्थ्यौं तर जित्न सकेनौं। अझै पाँच मिनेट खेल्न बाँकी भएको भए जित्थ्यौं,’ उनले भने। मिलानले अर्को खेल शनिबार पर्मासँग खेल्नेछ।