काठमाडौं। साफ यू–२० च्याम्पियनसिप सातदोबाटोस्थित एन्फा कम्प्लेक्समै हुने सम्भावना बढेको छ।
दक्षिण एसियाली फुटबल महासंघ (साफ) ले पठाएको म्याच कमिस्नर अब्दुल हमिद अब्दुल गफरले शुक्रबार बिहान त्रिपुरेश्वरस्थित दशरथ रंगशालाको मैदान निरीक्षण गरेका थिए।
साफले बिहीबार राति माल्दिभ्सका गफरलाई मैदान निरीक्षण गर्न पठाएको हो। उनले मैदानको गुणस्तर राम्रो नभएको जानकारी अखिल नेपाल फुटबल संघ (एन्फा)लाई दिएका छन्।
‘यहाँको मैदानको अवस्था अहिले खेलाउन योग्य देखिएन। त्यसैले यहाँ खेल हुँदैन भनेर म्याच कमिस्नरले भन्नुभएको छ। उहाँ त्रिपुरेश्वरबाट एन्फा आउँदै हुनुहुन्छ। त्यसपछि विस्तृत रूपमा जानकारी दिनुहुन्छ होला। अहिलेको स्थितमा भने उहाँको कुरा सुन्दा नहुने लगभग पक्काजस्तै देखियो,’ एन्फाका एक पदाधिकारीले खेलपाटीसँग भने।
प्रतियोगिताका खेल रंगशालाकै मैदानमा खेलाउने या नखेलाउने भन्नेबारे गफरले गरेको निर्णय नै अन्तिम भने हुनेछैन। उनले पनि साफमा रिपोर्ट पठाउने छन्। साफले उक्त रिपोर्ट अध्ययन गरेरमात्रै रंगशालाको मैदानमा प्रतियोगिता गराउन मिल्ने या नमिल्ने अन्तिम निर्णय गर्नेछ। त्यसैले पनि एन्फा कम्प्लेक्सको टर्फ तयार पारेको ती पदाधिकारीले बताए।
बिहीबार पत्रकार सम्मेलन गर्दै एन्फा प्रवक्ता सुरेश शाहले पनि अन्य विकल्प नहुँदा ललित स्मृति एन्फा यु–१८ युथ लिगलाई रोकेर साफका लागि टर्फ नै तयार गरेको जानकारी दिएका थिए। साफले रंगशालामा प्रतियोगिता गराउन मिल्दैन भने कम्तिमा सेमिफाइनल र फाइनलका खेल मात्रै भएपनि गराउन एन्फा लाग्ने उनको भनाइ द।
नेपालले उद्घाटन खेलमा आइतबार श्रीलंकासँग प्रतिस्पर्धा गर्नेछ। नेपाल र श्रीलंका रहेको समूह ‘ए’ मा बंगलादेश पनि छ। अर्को समूहमा साबिक विजेता भारत, माल्दिभ्स र भुटान छन्।