काठमाडौं। नेपाली राष्ट्रिय टोलीका कप्तान कुशल देउवाले साफ यु–२० च्याम्पियनसिप जित्ने ‘मेन्टालिटी’ लिएर खेल्ने बताएका छन्। नेपालले उद्घाटन खेलमा आइतबार श्रीलंकासँग प्रतिस्पर्धा गर्नेछ।
नेपाल र श्रीलंका रहेको समूह ‘ए’ मा बंगलादेश पनि छ। अर्को समूहमा साबिक विजेता भारत, माल्दिभ्स र भुटान छन्। ‘हाम्रो तयारी राम्रो भइरहेको छ। टोलीमा पहिलाभन्दा धेरै सुधार आएको छ। युवा, ऊर्जावान् र अनुभवी खेलाडी भएको कारण उपाधि जित्ने मेन्टालिटी लिएर उत्रिन्छौं,’ उनले भने।
यु–२० टोलीले यसपल्ट चर्च ब्वाइज युनाइटेडसँग तीन र आर्मीसँग केही अभ्यास खेल खेलेको थियो। जसको कारण टिमको तालमेल पनि राम्रो भएको उनले बताए।
घरेलु मैदानमै यो प्रतियोगिता हुने भएको कारण पनि सहयोग पुग्ने बताए। यद्यपि, उमेर समूहमा नेपाल जहिल्यै बलियो देखिए पनि सबै टोलीलाई हलुकामा नलिई खेल्ने पनि उनले बताए।