काठमाडौं। साफ यु–२० च्याम्पियनसिपमा नेपाली राष्ट्रिय फुटबल टोलीको कप्तानी कुशल देउवाले गर्ने भएका छन्।
गत वर्ष नेपालमै भएको साफ यु–१९ को कप्तानी गोलरक्षक जियारथ सेखले गरेका थिए। कुशलले उक्त प्रतियोगिता सेखको कप्तानीमा खेलेका थिए।
साफ यु–२० खेल्ने टोलीमा जियारथले पनि निरन्तरता पाएका छन्। यद्यपि, यसपल्ट मुख्य प्रशिक्षक उर्जन श्रेष्ठले कप्तानी जिम्मेवारी कुशललाई नै दिएका छन्।
उनीसँग ललितपुर सिटी एफसीबाट नेपाल सुपर लिग (एनएसएल) खेलेको अनुभव रहेको छ। जियारथ भने ‘ए’ क्लब मनाङ मर्स्याङ्दी फुटबल क्लबका बेन्च प्लेअर हुन्।
गत सिजन उनी मनाङसँगै रहेपनि खेल्ने अवसर भने प्राप्त गरेनन्। उक्त सिजन राष्ट्रिय टोलीको अनुभव सम्हालिसकेका कप्तान दीप कार्कीले नै गोल पोस्ट सम्हालेका थिए।