काठमाडौं। नेपाली यु–२० राष्ट्रिय फुटबल टोलीका मुख्य प्रशिक्षक उर्जन श्रेष्ठले आफ्नो लक्ष्य जसरी भए पनि साफ यु–२० च्याम्पियनसिपको ट्रफी घरमै राख्ने रहेको बताएका छन्।
समूह ‘ए’ मा आयोजक नेपाल र श्रीलंकासहित बंगलादेश छ। अर्को समूहमा साबिक विजेता भारत, माल्दिभ्स र भुटान छन्। नेपालले उद्घाटन खेलमा आइतबार श्रीलंकासँग प्रतिस्पर्धा गर्नेछ।
‘तयारी राम्रो भएको छ। आफ्नै घरेलु मैदानमा प्रतियोगिता हुने भएको कारण ट्रफी यही राख्ने लक्ष्य छ,’ उनले भने। यसपल्ट टोलीले चर्च ब्वाइज युनाइटेड र विभागीय टोली त्रिभुवन आर्मीको टोलीसँग अभ्यास खेल खेलेको थियो। चर्च ब्वाइजले अधिकांश राष्ट्रिय खेलाडी मैदान उतारेको कारण पनि यसले थप सहयोग पुगेको श्रेष्ठको भनाइ छ।
घरेलु मैदानमा समर्थको साथ पनि पाउने भएको कारण आफ्नो टोलीको उर्जा अझ बढ्ने उनको भनाइ छ। ‘फुटबल हो। कसैलाई कमजोर मान्नु हुँदैन। सबैको कोचको आफ्नो रणनीति र योजना हुन्छ। त्यसैले आफ्नो गेम खेल्दै जाने हो, जित्दै जाने हो। सबै म्याच फाइनल सम्झेर खेल्छौं,’ उनले भने।