काठमाडौं। दक्षिण अफ्रिकाका पूर्व फास्ट बलर मोर्ने मोर्केल भारतीय पुरुष क्रिकेट टिमको बलिङ प्रशिक्षकमा नियुक्त भएका छन्।
मोर्केलको नियुक्तिले भारतीय टोलीको कोचिङ स्टाफ पूरा भएको छ। यसमा मुख्य प्रशिक्षक गौतम गम्भीरबाहेक फिल्डिङ प्रशिक्षक टी दिलीप तथा रायन टेन देशकाटे र सहायक प्रशिक्षकमा अभिषेक नायर रहेका छन्।
मोर्केलका अलावा भारतका पूर्व फास्ट बलर आर विनय कुमारलाई पनि बलिङ प्रशिक्षकका लागि सर्टलिस्ट गरिएको थियो। बुधबार भारतीय क्रिकेट कन्ट्रोल बोर्ड (बीसीसीआई) सचिव जय शाहले उनको नियुक्तिको घोषणा गरेका हुन्।
मोर्केल डिसेम्बर २०२३ सम्म पाकिस्तानका बलिङ प्रशिक्षक थिए। उनको नाम गम्भीरले बोर्डमा सुझाएका थिए। गम्भीरले आईपीएलको दुई सत्रका लागि मोर्केलसँग लखनऊ सुपर जायन्ट्स टोलीमा काम गरेका थिए। मोर्केलसँग एसए२० मा डरबन सुपर जायन्ट्सका लागि पनि काम गरेका थिए।
मोर्केलले आफ्नो १२ वर्षे अन्तर्राष्ट्रिय करियरमा ८६ टेस्ट, ११७ एकदिवसीय र ४४ टी-२० खेले जसमा उनले ५४४ विकेट लिएका छन्। एलएसजी र पाकिस्तान टोलीको प्रशिक्षणका अलावा उनले २०२३ को महिला टी–२० विश्वकपमा न्युजिल्यान्ड टोलीसँग पनि काम गरिसकेका छन्। उनले भर्खरै सम्पन्न पुरुष टी–२० विश्वकपमा नामिबियाको टोलीलाई प्रशिक्षण दिएका थिए।