काठमाडौं। अखिल नेपाल फुटबल संघ (एन्फा)ले साफ यू-२० च्याम्पियनसिप खेलाउन वैकल्पिक मैदान खोज्ने भएको छ।
एएफसी च्यालेन्ज कपको प्लेअपअन्तर्गत चर्च ब्वाइज युनाइटेड र पारो एफसीबीचको खेलले मैदानको अवस्था बिग्रिएको थियो। मैदान हिलाम्मे भएपछि सर्वत्र आलोचना भएको थियो। खेल्नै नमिल्ने अवस्था भएपछि एन्फाले विकल्प खोज्न लागेको हो।
आगामी आइतबारदेखि साफ यू-२० च्याम्पियनसिप दशरथ रंगशालामा हुने तय छ। समूह ‘ए’ मा आयोजक नेपालसँगै बंगलादेश र श्रीलंका छन्। अर्को समूहमा भारत, माल्दिभ्स र भुटान छन्।
प्रतियोगिताको उद्घाटन खेलमा नेपाल र श्रीलंका भिड्ने छन्। उक्त खेल साँझ चार बजे सुरु हुनेछ। ‘प्रतियोगिताको म्याच कमिसनर भोलि आइपुग्ने छन्। उनले निरीक्षण गरेपछि मात्रै यहाँ खेल हुने नहुने भन्न सक्छौं। अहिले हाम्रो टोली मैदानको अवस्थाबारे निरीक्षण गर्न त्रिपुरेश्वर जाँदैछौं,’ एन्फाका प्रवक्ता सुरेश शाहले भने।
दशरथ रंगशालामा प्रतियोगिता खेलाउन असम्भव भए सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा खेलाउने तयारी पनि भइरहेको उनले जानकारी दिए। टर्फको मैदान भएको कारण त्यहाँ भने प्रतियोगिता सञ्चालन गर्न सम्भव हुने उनको भनाइ थियो।