काठमाडौं। ओलिभर जिरुडले मंगलबार राति सान जोस अर्थक्वेक्सविरुद्ध लिग कप राउन्ड अफ १६ को खेलमा लस एन्जलस एफसीमा डेब्यु गरेका थिए।
एलएएफसीको ४–१ को जितमा ३७ वर्षीय फ्रान्सेली स्ट्राइकरले ७१ औं मिनेटमा सब्स्टिच्युटका रुपमा मैदान प्रवेश गरेका थिए। उनले ९० औं मिनेटमा डिबक्सभित्रबाट पाएको अवसरलाई सान जोसेका डेनियल मुनीले गोल लाइननजिकबाट रोकेका थिए।
जिरुडले मे मा एलएएफसीसँग सम्झौता गरेका थिए। अगस्ट ३ मा क्लबको साथ उनले पहिलो अभ्यास गरे। फ्रान्स, इङ्ल्यान्ड र इटालीका शीर्ष व्यावसायिक लिगमा १८ वर्ष बिताएपछि उनी संयुक्त राज्य अमेरिका आएका हुन्। जसमा एसी मिलानसँग पछिल्ला चार सिजन पनि सामेल छन्। उनले ७ सय १६ क्लब म्याचमा २ सय ८५ गोल गरेका छन्।