काठमाडौं। भारतीय क्रिकेट कन्ट्रोल बोर्ड (बीसीसीआई) ले अन्तर्राष्ट्रिय घरेलु सिजनको नयाँ तालिका सार्वजनिक गरेको छ। आगामी भारत–बंगलादेश सिरिजबाहेक, भारत–इङ्ल्यान्ड ट्वान्टी–२० सिरिजका दुई स्थानहरू फेरबदल गरिएको छ।
भारत र बंगलादेशबीच हुने ट्वान्टी–२० सिरिजको पहिलो खेल अब धर्मशालाको सट्टा ग्वालियरमा हुनेछ। यो खेल ६ अक्टोबर २०२४ मा खेलिनेछ। धर्मशालामा रहेको रंगशालाको ड्रेसिङ रुमको मर्मतसम्भारको काम भइरहेकोले स्थान परिवर्तन गर्ने निर्णय गरिएको हो।
पछिल्लो दुई वर्षमा अन्तर्राष्ट्रिय खेल धर्मशालाको सट्टा अर्को ठाउँमा सारिएको यो दोस्रो पटक हो। यसअघि सन् २०२३ को फेब्रुअरीमा भारत–अस्ट्रेलिया टेस्ट म्याच खेलको लागि आउटफिल्ड तयार नभएको कारण धर्मशालाबाट इन्दौरमा सारिएको थियो।
ग्वालियरको नयाँ स्टेडियम श्रीमन्त माधवराव सिन्धिया स्टेडियममा यो पहिलो अन्तर्राष्ट्रिय खेल हुनेछ। २०१० मा ग्वालियरमा दक्षिण अफ्रिकाविरुद्धको एकदिवसीय खेलमा सचिन तेन्दुलकरले दोहोरो शतक बनाएका थिए। उनी दोहोरो शतक बनाउने पहिलो खेलाडी थिए। त्यसपछि ग्वालियरले कुनै पनि अन्तर्राष्ट्रिय खेल आयोजना गरेन।
योसँगै अर्को वर्ष जनवरीमा इङ्ल्यान्डविरुद्ध हुने ट्वान्टी–२० सिरिजका पहिलो दुई खेलको स्थान पनि हेरफेर गरिएको छ। तर, यी दुवै खेलको मितिमा कुनै परिवर्तन गरिएको छैन। पहिलो खेल चेन्नईमा र दोस्रो खेल कोलकाताले आयोजना गर्ने थियो। तर, पहिलो खेल २२ जनवरी २०२५ कोलकातामा हुनेछ भने दोस्रो खेल २५ जनवरी २०२५ मा चेन्नईमा हुनेछ।
भारतको अन्तर्राष्ट्रिय घरेलु सिजन सेप्टेम्बर १९ बाट सुरु हुँदैछ। बंगलादेशसँग दुई टेस्ट र तीन ट्वान्टी–२० सिरिज खेलेपछि भारतले अक्टोबर १६ देखि नोभेम्बर ५ सम्म न्युजिल्यान्डसँग तीन टेस्टको सिरिज खेल्नेछ। यसपछि भारत नोभेम्बर २२ देखि जनवरी ७ सम्म पाँच टेस्टको सिरिज खेल्न अस्ट्रेलिया जानेछ।
यसपछि भारतले जनवरी २२ देखि फेब्रुअरी १२ सम्म घरेलु मैदानमा इङ्ल्यान्डसँग पाँच ट्वान्टी–२० र तीन एकदिवसीय सिरिज खेल्नेछ। च्याम्पियन्स ट्रफी पनि एकदिवसीय सिरिजपछि तुरुन्तै खेलिनेछ।