काठमाडौं । तेस्रो संस्करणको नेपाल आइस सुदूरपश्चिम खप्तड गोल्डकप फुटबलको दोस्रो सेमिफाईनलमा आज सीएमजी संकटा र विभागीय टिम पुलिसबीच प्रतिस्र्पा हुदैछ ।
खेल धनगढीको क्षेत्रिय रंगशालामा दिउँसो साढे २ बजे सुरु हुनेछ ।
सहिद स्मारक ए डिभिजन लिगमा उपविजेता बनेको संकटा र नेपाल पुलिस क्लबबीचको विजेताले उपाधिका लागि थ्री स्टार क्लबसंग प्रतिस्पर्धा गर्नेछ । लिगको अन्तिम खेलमा पुलिसलाई संकटाले २–१ ले पराजित गरेको थियो ।
ए डिभिजन लिगमा ब्यहोरेको हारको बदला लिने अवसर पुलिसलाई प्राप्त छ । संकटा भने लिगको नतिजालाई मोफसलको प्रतियोगितामा समेत निरन्तरता दिन चाहन्छ ।
पुलिसले सिधै बाई पाएर क्वार्टरफाईनल पुगेको मनाङलाई हराउँदै अन्तिम ४ मा प्रवेश गरेको थियो । पुलिसले प्रि क्वार्टरफाईनलमा मोरङ ११ लाई हराएको थियो ।
संकटाले प्रि क्वार्टरफाईनलमा रुपन्देहीको गोर्खा ब्वाईज र अन्तिम ८ को खेलमा क्यामरुनको टिमलाई हराएको थियो ।
मोफसलकै सर्बाधिक पुरस्कार राशीको प्रतियोगिताको विजेताले २१ लाख र उपविजेताले १० लाख रुपैयाँ हात पार्नेछन् ।