काठमाडौं। चर्च ब्वाइज युनाइटेड एएफसी च्यालेन्ज कपअन्तर्गत प्रारम्भिक छनोटबाटै बाहिरिएको छ। त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा बुधबार सम्पन्न खेलमा पारो एफसीसँग २-१ गोलअन्तरले पराजित हुँदै चर्च ब्वाइज छनोटबाट बाहिरिएको हो।
पारोको जितमा किङ्गा वाङ्चुक र विलियम ओपकुले गोल गरे। यस्तै, चर्च ब्वाइजका लागि लाकेन लिम्बूले गरेको गोल सान्त्वना बन्यो।
खेलको नवौं मिनेटमै पारोले गोलको अवसर बनाएको थियो। किङ्गा वाङचुकले प्रहार गरेको बललाई चर्च ब्वाइजका डिफेन्डरले क्लियर गर्ने प्रयास गरेका थिए। तर, उक्त बल राम्ररी क्लिअर हुन नसक्दा रिबान्डमा आएको बललाई विलियम ओपकुले प्रहार गरेपनि बारमा लागेर फर्किएको थियो।
३१औं मिनेटमा होन्डाले गरेको प्रहार गरेको फ्रिकिक बारमा लागेर फर्कियो। ३७औं मिनेटमा एरिकले प्रहार गरेको कर्नर किकलाई शनिसले कट हेडिङ प्रहार गरेपनि बारभन्दा टाढाबाट बाहिरियो। ३९औं मिनेटमा लाकेन लिम्बूले चर्च ब्वाइजलाई सुरुआती अग्रता दिलाए। मोसेस टुमले मिलाइदिएको पासमा उनले गोल लाइननजिकबाट गरेको प्रहार गोलमा परिणत भयो। एक मिनेटपनि नबित्दै किङ्गा वाङ्चुङले गोलरक्षक दीप कार्की बिट भइसकेको अवस्थामा गोल गर्दै खेल बराबरीमा ल्याए।
४७औं मिनेटमा चर्च ब्वाइजलाई खेलमा पुन: अग्रता लिने मौक थियो। तर, एरिकले गोल गर्न सकेनन्। अञ्जनले प्रहार गरेको बल मिलोस कुपिकले पञ्च गर्दै बचाएका थिए। रिबान्डमा आएको त्यही बललाई एरिकले प्रहार गरेपनि चिप्लिँदा जाली चुमाउन सकेनन्। त्यसको एक मिनेटमै पारोले अर्को मुभ बनाएको थियो। तर, करिमले हेडर गर्दै बचाए। ५२औं मिनेटमा होन्डाले प्रहार गरेको बल दीपले पञ्च गर्दै बचाउँदा पारोले पनि खेलमा अग्रता लिने अवसर चुकाएको थियो। ५४औं मिनेटमा मोसेसले प्रहार गरेको उक्तकृष्ट प्रहार कुपिकले पञ्च गर्दै बचाए।
६७औं मिनेटमा ओपकुले पुन: पारोलाई अग्रता दिलाए। कुपिकले क्लिअर गरेको बललाई डिफेन्डर करिमले नियन्त्रणमा लिन नसकेपछि ओपकुले सीधै प्रहार गरेको बलले जाली चुम्यो। ७६औं मिनेटमा ओपकुको प्रहार माथिल्लो बारनजिकबाट बाहिरिएको थियो। उनले होन्डाले निकाल्दिएको पासलाई सदुपयोग गर्न सकेनन्। ८३औं मिनेटम सञ्जीव विष्टले डी बक्स लाइनजिकबाट प्रहार गरेको उत्कृष्ट बललाई कुपिकले बचाउ गरे।
निर्धारित खेल सकिन एक मिनेट बाँकी रहँदा काउन्टर अट्याकमा चर्च ब्वाइजले अर्को मौका बुनेको थियो। तर, मेसेसले पेनाल्टी बक्सबाट उक्त मौका गुमाए। योसँगै चर्च ब्वाइजको समूहचरणमा पुग्ने आशा समाप्त भयो।