काठमाडौं। लाउटारो मार्टिनेजले सोमबार इन्टर मिलानसँग आफ्नो भविष्यको प्रतिबद्धता व्यक्त गर्दै नयाँ सम्झौतामा हस्ताक्षर गरेका छन्। उनी सन् २०२९ सम्म सिरी ‘ए’ च्याम्पियनसँगै रहनेछन्। मार्टिनेजले अर्जेन्टिनालाई कोपा अमेरिका जिताउन पाँच गोल गरेका थिए।
अर्जेन्टिनाका स्ट्राइकर लाउटारोले दुई वर्षमा सकिन लागेको सम्झौता नवीकरण गरेपछि प्रतिसिजन ९० लाख युरो (९८ लाख अमेरिकी डलर) तलब पाउने भएका छन्।
इन्टरका अध्यक्ष ग्यूसेप मारोटाले गत महिना लाउटारोले आफ्नो नयाँ सम्झौतामा हस्ताक्षर गर्न सहमति जनाइसकेको तर कोपा अमेरिका पछिको बिदाबाट फर्केपछि उनले घोषणा नगरेसम्म पर्खने बताएका थिए।
कोलम्बियाविरुद्धको फाइनलमा उनले एक गोल गरेका थिए। अर्जेन्टिनालाई कोपा अमेरिकाको उपाधि जिताउन लाउटारोले सर्वाधिक पाँच गोल गर्दै महत्त्वपूर्ण भूमिका खेलेका थिए।
इन्टरले चार सिजनमा दोस्रो पटक सिरी ‘ए’ को उपाधि जित्दा स्थानीय प्रतिद्वन्द्वी एसी मिलानलाई १९ अंकले पछि पारेको थियो। प्रशिक्षक सिमोन इन्जाघीले यसै महिना इन्टर मिलानसँगको सम्झौता सन् २०२६ सम्मका लागि बढाएका छन् भने स्टार मिडफिल्डर निकोलो बरेलाले युरो कप २०२४ अघि सन् २०२९ सम्मका लागि नयाँ सम्झौता गरेका छन्। इन्टरले शनिबार जेनोवामा लिग उपाधि रक्षाको सुरुवात गर्नेछ।