काठमाडौं। एट्लेटिको मड्रिडले सोमबार म्यानचेस्टर सिटीका स्ट्राइकर जुलियन अल्भारेजलाई ८ करोड ५० लाख युरो (नौ करोड ३० लाख अमेरिकी डलर) मा अनुबन्ध गरेको छ।
एट्लेटिकोमा अनुबन्ध हुनुअघि अल्भारेजले अर्जेन्टिनालाई कोपा अमेरिका जिताएका थिए। एट्लेटिकोले जारी गरेको विज्ञप्तिमा भनिएको छ, ‘क्लबले म्यानचेस्टर सिटीसँग अर्जेन्टिनी फरवार्डको स्थानान्तरणका लागि सम्झौता गरेको छ।’ स्पेनिस रिपोर्टका अनुसार एट्लेटिकोले फरवार्डका लागि सात करोड ५० लाख युरो तिर्नेछ।
सन् २०२२ को जनवरीमा रिभर प्लेटबाट उनी एक करोड ४० लाख पाउन्ड (एक करोड ६० लाख युरो) मा सिटी आएका थिए। यी २४ वर्षीय खेलाडीले प्रिमियर लिगमा दुई ट्रफी र च्याम्पियन्स लिगका साथै अन्य प्रतियोगिता जितेका थिए।
अल्भारेजले अर्जेन्टिनालाई सन् २०२२ को डिसेम्बरमा विश्वकप र सन् २०२१ र २०२४ मा कोपा अमेरिकाको उपाधि जिताउन पनि मद्दत गरेका थिए। अल्भारेजले सिटीका लागि सबै प्रतियोगितामा १०३ खेलमा ३६ गोल गरेका थिए।
म्यानचेस्टर सिटीका प्रशिक्षक पेप ग्वार्डिओलाले गत साता भनेका थिए, ‘उनको व्यवहारका कारण उनलाई टिमले असाध्यै माया गर्छ। तर, मैले धेरै पटक भनेजस्तै उनी क्लब छोड्न चाहन्छन् र नयाँ चुनौती भोग्न चाहन्छन्।’ एट्लेटिकोले अगस्ट १९ मा भिल्लारियलको सामना गर्दै नयाँ सिजनको सुरुआत गर्नेछ।